Paschim Express
कृषिमा यन्त्रीकरणले देखिन छाड्यो हलो

डडेल्धुरा । परशुराम नगरपालिकाका अगुवा कृषक रनबहादुर धामीले कृषिमा प्रयोग हुने आधुनिक यन्त्र अन्तगर्तका मेसिन चलाउन थालेको २ वर्ष भयो । हाते ट्याक्टर, काट्ने र चुट्ने औजार उनले पहिलेदेखि नै चलाउँदै आएका हुन् । यन्त्रीकरणका कारण उनको घरमा हलो हराइसकेको छ । ‘गोरुभन्दा हाते ट्याक्टरबाट धेरै सजिलो र छिटो खेतीपाती गर्न सकिन्छ,’ धामीले भने, ‘बर्षभरी गोरु पाल्न पनि परेन । कृषि कार्य सस्तोमा पनि हुने भयो ।’

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्न थालिएको छ । जसका कारण मिनिट्रिलर, पावरट्रिलर, धान काट्ने रिपर, आलु खन्ने मेसिन, आलु लगाउने मेसिन, सिकेचर, कैँची जस्ता कृषि यन्त्रहरुको प्रयोग बढेको छ । यो वर्ष मात्रै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले १७०, कृषि ज्ञान केन्द्र डडेल्धुराले ४७ र कृषि निर्देशनालयले ५५ गरि करिब ३ सय ४ कृषि उपकरणहरु वितरण गरेका छन् ।  

‘डडेल्धुरामा पछिल्लो वर्ष यता गोरु जोत्ने काम भन्दा पनि मिनी ट्याक्टरमा कृषकहरु बढी आर्कषित भएका छन्,’ कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालिन प्रमुख रामचन्द्र भट्टले भने, ‘दैनिक रुपमै कृषकहरु मिनिट्रेलरको खोजीमा आउने गर्दछन् ।’  

अमरगढी ११ का कृषक अजय जोशी पनि हिजोआज आधुनिक यन्त्र प्रयोग गरेर तरकारी खेती गर्न थालेका छन् । सधैंजसो तरकारी बारीमा समय दिने जोशीले विभिन्न आधुनिक यन्त्रको प्रयोग सुरु गरेर समय बचत गरेका छन् । ‘आधुनिक यन्त्रको प्रयोगले समयको मात्र बचत भएको छैन, उत्पादन पनि बढेको छ,’ जोशीले भने, ‘बचेको समयमा अरु धेरै काम गर्न सकिदो रहेछ ।’

चार हल गोरुले ४ दिन लगाएर जोत्ने गरेको बारी मिनिट्रिलरले डेढ दिनमै जोतेर तरकारी लगाउन सकेको बताउँदै जोशीले भने, ‘राम्रा गोरु किन्न लाग्ने पैसाभन्दा कम पैसामा मिनिट्रिलर आउने गरेको छ ।’ मिनिट्रिलरले जोत्ने गाउँमा उनी एक्ला भने होइनन् । जोशी भन्छन्, ‘पछिल्लो समय गाउँमा गोरु पाल्नेको संख्या घटेको छ ।’

सुगम मानिने पहाडी जिल्ला डडेलधुरामा पछिल्लो समय भण्डारी र जोशी जस्तै आधुनिक यन्त्रबाट खेतीपाती गर्नेहरु उनी जस्तै धेरै कृषक छन् । जिल्लाको भित्री मधेश क्षेत्रमा धान, गहुँ खेती पनि आधुनिक यन्त्रको सहायताले सुरु भएको छ । पहाडी क्षेत्रमा तरकारी खेती आधुनिक यन्त्रबाट गरिन थालिएको हो । तरकारीको पकेट क्षेत्र मानिने परशुराम, अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिकाका अधिकांश कृषकले खेतीपातीमा आधुनिक यन्त्रको प्रयोग गर्न थालेको वर्षौं भएको छ ।

सुरुसुरुमा सिमित अगुवा कृषकले मात्र खेती किसानीमा आधुनिक यन्त्रको प्रयोग गर्थे । पछिल्लो समय अधिकांशले आधुनिक यन्त्रकै प्रयोग गर्ने गरेका छन् । हरेक घरमा एक हल गोरु हुने भागेश्वरको बगरकोटमा पछिल्लो समय १० परिवारमध्ये एक परिवारसँग मात्र गोरु छन् । ‘धेरैले गोरु पाल्न छोडिसके,’ स्थानीय कृषक दानबहादुर टेरले भने, ‘आधुनिक यन्त्रबाट खेतीपाती र आधुनिक प्रविधिबाट आफैं मल बनाउने कृषकको संख्या निकै बढेको छ ।’ प्रधानमन्त्री आधुनिकरण परियोजनाले कृषकहरुलाई खेतबारीमा नै पुगेर कृषि यन्त्र प्रयोग गर्न प्रशिक्षण दिन थालेपछि प्रयोग बढेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा पनि सबैभन्दा बढी अनुदान बाढ्नेमा प्रधानमन्त्री आधुनिकरण परियोजना नै पर्छ । ‘आधुनिक यन्त्र खरिदमा तीन वटै तहका सरकारले अनुदान दिन थालेपछि परियोजनाले खेतबारीमै पुगेर कृषकलाई यन्त्र सञ्चालन गर्ने सीप सिकाउन थालेको हो,’ कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि अधिकृत खेमराज पनेरुले भने । 

परिश्रम घटाउने र उत्पादन बढाउने लक्ष्य अनुरुप काम भइरहेको उनले बताए । लगत पनि घट्ने र कृषकको मुनाफा पनि बढ्ने भएपछि अधिकांश कृषकहरु यसतर्फ आकर्षित भएको उनले बताए । उन्नत प्रविधिको बिउ, आधुनिक यन्त्रको प्रयोग र कृषि प्राविधिकहरुको निरन्तर निगरानीले केही वर्षमै विगतभन्दा उत्पादन निकै वृद्धि भएको पनेरु बताउँछन् ।

कृषिमा यान्त्रीकरण बढेपछि डडेल्धुराका अधिकांश बाँझो जमिन भाडामा लिएर तरकारी खेती गर्नेको संख्या पनि बढेको छ । गन्यापधुरा, भागेश्वर गाउँपालिका र अमरगढी नगरपालिका क्षेत्रमा मात्र एक हजार पाँच रोपनीभन्दा बढी बाँझो जमिन भाडामा लिएर देशका विभिन्न ठाउँबाट आएका युवाहरुले तरकारी खेती सुरु गरेका छन् । 

‘आधुनिक यन्त्रको प्रयोग गरेर खेती गर्न थालेका कृषकको उत्पादनमा निकै वृद्धि भएको देखिएको छ,’ कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालिन प्रमुख भट्टले भने, ‘जनशक्ति कम खर्च हुने, परिश्रम कम लाग्ने, लागत घट्ने, उत्पादन बढ्ने र मुनाफा बढी हुन थालेपछि कृषकहरु आधुनिक यन्त्रतर्फ आकर्षित हुन थालेको छन् ।’

६० प्रतिशतले छोडे हलो 
डडेल्धुरामा रहेका करिब २६ हजार ९ सय ८४ कृषक परिवारमध्ये ६० प्रतिशतले हलोबाट जोतेर खेती गर्न छोडेका छन् । कृषि ज्ञान डडेल्धुराका कृषि अधिकृत खेमराज पनेरुका अनुसार ६० प्रतिशत कृषकहरु हलोको सट्टा मिनिट्रिलर र पावरट्रिलर प्रयोग गर्ने गर्दछन् ।

कामको बोजलाई कम गर्न कृषकहरु अहिले यन्त्रीकरणमा बढी आकर्षित भएका छन् । २०७८ सालको कृषी गणना अनुसार डडेल्धुरामा अधिकांश कृषकहरु आधुनिक यन्त्रतर्फ बढी आकर्षित भएको देखिन्छ । पछिल्लो समयमा गोरुमा देखिको लम्पीस्किन रोगका कारण पनि थप कृषकहरुले गोरु पाल्न छोडेको पशु प्राविधिकहरु बताउँछन् ।  
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update