Paschim Express
डडेल्धुरामा एग्रोभेटको अनुगमन, मापदण्डअनुसार संचालन गर्न आग्रह

डडेल्धुरा । जिल्ला सदरमुकाममा रहेका एग्राेभेटकाे  अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले आइतबार जिल्ला सदरमुकामस्थित अमरढी नगरपालिकामा रहेका कृषि तथा पशु एग्रोभेटमा अनुगमन गरेको हो ।

नवदुर्गा एग्राेभेट, लक्ष्मी एग्राेभेट, साउद एग्राेभेट युनाइटेड सिड्स र बगरकोट रोडमा रहेकाे पारस एग्राेभेट लगायतमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही एग्रोभेटमा नियमविपरित केही म्याद नाघिसकेका बिषादी राखिएको पाइएको थियो ।

`बिषादी जस्तो मानव स्वास्थ्यका लागि संवेदनशील चिजसँग खाद्यबस्तु सँगै राख्न नमिल्ने र त्यस्ता चिज मानव स्वास्थ्यका लागि प्रतिकुल हुने हुँदा आगामी दिनमा त्यसो नगर्ने गरि म्याद नाघेका बिषादीहरु सम्बन्धित उत्पादक कम्पनीमा फिर्ता गर्ने गरि पहिलोपटक सचेत गरिएको छ,´ प्रमुख पनेरुले भने ।
उनका अनुसार बजारस्थित सबै एग्रोभेटलाई मापदण्ड अनुरुप संचालन गर्न सचेत गराइएकाे छ । 

अनुगमनमा कृषि ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसंगै संचारकर्मी उद्योग बाणिज्य संघ लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update