Paschim Express
भूकम्प पीडितको उचित बसोबासको व्यवस्था गर्दै राहत प्रदान गर्न सांसद खड्काको आग्रह

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले भूकम्प पीडितको उचित बसोबासको व्यवस्था गर्दै राहत प्रदान गर्न आग्रह गरेकी छिन् । आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद खड्काले यस्तो आग्रह गरेकी हुन् ।

 

‘असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बझाङ, अछाम डडेल्धुरा र बैतडीमा क्षति गरेको छ,’ उनले भनिन्, ‘डडेल्धुराको गन्यापधुरामा ३, नवदुर्गामा २, अमरगढीमा एक गरी ६ घर भत्किएका छन् । विद्यालयमा पनि क्षति पुगेको छ । पीडितलाई तत्काल राहतको व्यवस्था गर्न र घर भत्किएका व्यक्तिलाई उचित बसोबासको व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछु ।’

 

प्रदेश सांसद खड्काले डडेल्धुरामा शिवशिखर सहकारीले बचतकर्ताबाट संकलन गरेको करोडौं रकम फिर्ता गराउन पनि माग गरेकी छिन् । ‘सहकारीले ठुलो रकम जनताबाट संकलन गरी अहिले संस्थाका सञ्चालक र कर्मचारी भागेका छन्,’ उनले भनिन्, ‘यसबाट आम सर्वसाधारणलाई ठुलो मर्का परेको छ । सबैको रकम फिर्ता गराउन सरकारसंग आग्रह गर्न चाहन्छु ।’
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update