Paschim Express
डडेल्धुराका शिक्षकको दलीय आबद्धता खोज्न थालियो, बर्खास्त गर्ने तयारी

डडेल्धुरा । दलीय राजनीतिमा सक्रिय शिक्षकको आबद्धता खोज्न थालिएको छ । त्यस्ता शिक्षकलाई कारबाही गर्नका लागि राजनीतिक दलमा आवद्ध शिक्षकको विवरण मागिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले विवरण मागेको हो । जिल्लास्थित सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्र पठाउँदै विवरण माग गरिएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए ।

‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएपछि हामीले विवरण मागेका छौं,’ जोशीले पश्चिमएक्सप्रेसलाई भने, ‘सम्पूर्ण पालिकाले परिपत्रको कार्यान्वयन गर्नुहुनेछ भन्ने विश्वास छ ।’

जोशीका अनुसार शिक्षकको विवरण प्राप्त भइसकेपछि कारबाहीका लागि शिक्षा मन्त्रालयसंग समन्वय गरेर प्रक्रिया अगाडि बढाइने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न ७७ वटै इकाइहरूलाई निर्देशन दिएको थियो । 

राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई कारबाही गर्न शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान छ । यस्तै उच्च अदालत पाटनको रिट नम्बर ०७८–०४०८, निर्णय नम्बर ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

यस्तै शिक्षा इकाइ डडेल्धुरालाई पनि राजनीतिक दलमा आवद्ध शिक्षक÷कर्मचारीहरूलाई पदबाट हटाई त्यसको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिइएको छ । डडेल्धुरा जिल्लामा दुई सय ५१ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा एक हजार दुई सय बढी शिक्षक शिक्षक छन् ।

तीमध्ये अधिकांश विभिन्न राजनीतिक दलका शिक्षक संगठनहरूमा आबद्ध छन् । हाल नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघ, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संघ लगायतका शिक्षक संगठनहरु डडेल्धुरामा क्रियाशील छन् ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update