Paschim Express
डडेल्धुरामा पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ कारण

डडेल्धुरा । डडेल्धुरा जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । जिल्लामा रहेका उग्रतारा आयल स्टोर र सहश्रलिंग बिरबेतार आयल स्टोरको लापरबाहीले जिल्लाभर पेट्रोलियम पदार्थको हाहाकार भएको हो । जिल्ला सदरमुकाममा रहेको उग्रतारा आयल स्टोरले ट्याङकरको समस्या देखाएर एक सातादेखि इन्धन वितरण गरेको छैन ।

१२ बैशाखमा डोटीको जोरायल गाउँपालिका–२ बुडरमा उक्त आयल स्टोरको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३६ वर्षीय रमेश विकको मृत्यु भएको थियो । 

सोहीदनदेखि इन्धन बोक्ने ट्याङकर आफूसंग नभएको भन्दै उक्त आयल स्टोरले पेट्रोलियम पदार्थ वितरण बन्द गरेको छ । ‘इन्धन बोक्ने ट्याङकर नै नभएपछि समस्या भएको हो,’ आयल स्टोरका सञ्चालक तेजबहादुर साँकीले भने, ‘भोलिसम्म पेट्रोल र डिजेल ल्याएर वितरण सुरु गर्ने तयारी छ ।’

उता ढुनढुनेमा रहेको सहश्रलिंग बिरबेतार आयल स्टोरले भने इन्धन बिक्री गर्न छोडेको एक महिना बितिसकेको छ । आयल स्टोरले पम्प बिग्रिएको भन्दै एक महिनादेखि इन्धन बिक्री गर्न बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाले पम्प मर्मत गरेर तत्काल इन्धन वितरण सुरु गर्न उक्त आयल स्टोरलाई आग्रह गरिएको थियो । तर, आयल स्टोरले इन्धन वितरण गर्न अझै सुरु गरेको छैन । 

आयल स्टोरको लापरबाहीले पेट्रोलियम पदार्थको हाहाकार हुँदासमेत जिल्ला प्रशासन कार्यालय उदासिन बनेको भन्दै जिल्लाबासी आक्रोसित बनेका छन् । ‘जिल्लामा रहेका दुबै आयल स्टोरको लापरबाही आजको मात्रै होइन,’ डडेल्धुरा अमरगढीका शिवराज भट्टले भने, ‘मन लागेको दिन पेट्रोल पम्प खोल्ने र मन नलागे बन्द गर्ने प्रवृत्ति छ । अत्यावश्क पदार्थको बिक्री वितरणमा सधैँ लापरबाही हुँदा पनि प्रशासनलाई वास्ता हुँदैन ।’

यता डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई पनि गुमराहमा राखिएको छ । पेट्रोल पम्पले इन्धन वितरण गर्न थालिसकेको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई रिपोर्टीङ भएको छ । ‘ढुनढुनेको पेट्रोल पम्पले इन्धन बाड्न सुरु गरिसकेको जानकारी आएको छ,’ सिडिओ न्यौपानेले पश्चिमएक्सप्रेसलाई भने, ‘इन्धन दिएको छैन भने हामी ताकेता गर्छाैं ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update