Paschim Express
अझै नियन्त्रणमा आएन डडेल्धुराको ऋषि वनमा लागेको डढेलो, निभाउने प्रयास हुँदै 

डडेल्धुरा ।  मंगलबार साँझबाट डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो हालसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार तुफानडाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो हिजो(बुधबार) नेकपा एमालेको पार्टी कार्यालय तथा डडेल्धुरा क्याम्पसमुनीसम्म पुगेको थियो ।

अमरगढी नगरपालिकाको एउटा दमकल, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि हिजो दिनभर प्रयास गरेका थिए । त्यहाँ  नियन्त्रण भएपनि आज(बिहीबार) उक्त आगो डिभिजन वन कार्यालयको दाँयापट्टीको जंगलमा पुगेको छ । अहिले आफ्नो टिमसहित त्यही खटिएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वन कार्यालयका सूचना अधिकारी रणेन्द सिंहले जानकारी दिए । 

438263881_122114325140278072_4602747065344456737_n-1714633928.jpg

उनले सहयोगका लागि सुरक्षा निकायलाई खबर गरिएको बताउँदै केहीछिनमा उनीहरु आउने जानकारी पाएको बताए । आफूहरुले नेपाली सेना र सशस्त्र प्रहरीलाई अग्नी नियन्त्रण सामग्री वितरण गरेकाले हाल ती निकाय आगलागी नियन्त्रणमा खटिने गरेको उनले बताए । 

हिजो प्रहरीले सदरमुकाममा बसोबास गर्दै आएका प्रत्येक घरधुरीबाट एकरएक जना आएर आगो निभाउन सहयोग गर्न भन्दै माइकिङसमेत गरेको थियो ।

सूचना अधिकारी रणेन्द सिंहका अनुसार अहिले जिल्लाको १०० हेक्टर वन क्षेत्रफलमा डढेलो लागेको छ । आफूहरु तथ्यांक संकलनमै रहेकाले आगलागी तथा डढेलो नियन्त्रणमा स्थानीयको सहयोग आवश्यक पर्ने उनको भनाई छ । 

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान आगो लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा डढेलो लाग्ने गरेकाले सबै सचेत हुनुपर्ने उनले बताए । 

438215825_122114324594278072_4884797027655358992_n-(1)-1714633947.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update