Paschim Express
गोरखापत्रमा अब डडेल्धुरेली भाषाका सामाग्री

डडेल्धुरा । गोरखापत्र दैनिकमा प्रकाशन हुँदै आइरहेको नयाँ नेपाल बहुभाषा पृष्ठमा डडेल्धुरेली भाषा पनि समावेश भएको छ । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका अनुसार आजदेखि डडेल्धुरेली भाषामा पनि सामाग्री प्रकाशन सुरु गरिएको हो । डडेल्धुरेली भाषाको संरक्षणसंगै राष्ट्रिय रुपमा पहिचान बनाउनका लागि गोरखापत्रमा सामाग्री प्रकाशन गर्न सुरु गरिएको ऐरीले जानकारी दिए । 

उनका अनुसार योसँगै गोरखापत्र दैनिकमा प्रकाशन हुने मातृभाषाको सङ्ख्या ४३ पुगेको छ । ०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षकअन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा पृष्ठ प्रकाशन प्रारम्भ भएको हो । 

जनआन्दोलन ०६२र६३ को सफलतापछि बनेको नेपालको अन्तरिम संविधानले देशका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको थियो । मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update