Paschim Express
डडेल्धुरामा आगलागीले ह्वात्तै बढ्यो प्रदूषण, सचेत रहन आग्रह

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा वायु प्रदुषण अत्यधिक मात्राले बढेको छ । प्रदुषण बढपछि एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १०३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

तर, डडेल्धुरा जिल्लाको एयर क्वालीटी इन्डेक्स निरन्तर उकालो लागिरहेको छ । पछिल्लो केही दिनदेखि जिल्लाको आकाश विहानैदेखि धमिलो देखिरहेको छ भने घाम नलाग्ने, आँखा तथा नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउन थालेको छ । केही दिनदेखि डडेल्धुराका थुपै्र क्षेत्रमा आगलागीका घटना भइरहेका छन् । जिल्ला वन कार्यालय अधिकृत रणेन्द्र सिंहका अनुसार जिल्लाका एक सय ९७ स्थानमा आगो लागेको छ । 

आगलागीकै कारण प्रदुषण झन बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन ढाक्टर निराजनदत्त शर्माका अनुसार आगोको धुवाँले प्रदुषण निकै बढाउने गरेको छ । ‘आगोको धुवाँले सामान्यदेखि जटिल स्वास्थ्य समस्या पनि आउने गरेको छ,’ उनले भने, ‘ वायु प्रदूषणका कारणले आँखा रातो हुने, आँखा दुख्ने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्छ । यस्तो समयमा सकभर बाहिर नजाने र जानै परे पनि मास्कको प्रयोग अनिवार्य गर्न आवश्यक छ ।’

धुवाँले बढाएको वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर लगायतका रोगको जोखिम पनि बढाउने डा. शर्मा बताउँछन् । ‘बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धाले यस्तो समयमा बढी सचेत हुन आवश्यक छ,’ उनले भने, ‘आगलागीबाट आउने धुवाँले त अक्सिजनको मात्रा पनि घटाउने गरेको छ । यस्तो समयमा पानीको अत्यधिक प्रयोग गर्न आवश्यक छ । हात, मुख, नाक र आँखाको समयसमयमा पानीले सफाई गर्नुपर्छ ।’

वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको बताइएको छ । वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रासमेत थपिंदै गएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update