Paschim Express
भूकम्प प्रभावित क्षेत्रमा जाँदै सुदूरपश्चिमका मुख्यमन्त्रीको टोली

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ गइरहेको छ। आज उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली  बझाङको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुमनमा जान लागेको हो। टोलीले अनुगमनका साथै पीडितसँग भेटघाट, क्षति भएका भौतिक संरचनाको अवलोकन जिल्लास्थित राहत र उदारमा खटिएका निकाय र स्थानीय तहसँग छलफल गर्ने बताइएको छ।

मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। 

बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ६.३ म्याग्निच्युड र त्यसपछिका भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई र अछाममा एक निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। 

भूकम्पले सात पहाडी जिल्लाका तीन सय दुई घरमा आंशिक क्षति पुगेको छ। जसमध्ये सबैभन्दा धेरै बझाङमा दुई सय ७७ घर छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का अनुसार निजी घरबाहेक सातवटा विद्यालय भवन, एउटा स्वास्थ्य चौकी र २५ वटा सरकारी भवनमा पनि आंशिक क्षति पुगेको छ। भूकम्पका कारण तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर पुगेका छन्। भूकम्पपीडितलाई बस्न तीन सय ७८ सेल्टर बनाइएको छ, जसमध्ये सबैभन्दा बढी बझाङमा तीन सय ४१ छन्। भूकम्पमा परी एक महिलाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update