Paschim Express
सुदूरपश्चिममा चट्याङ बन्दैछ काल, १० वर्षमा लियो ९६ जनाको ज्यान

डडेल्धुरा । नेपालमा अहिले प्री–मनसुनको समय छ । यो समयमा चट्याङ र हावाहुरीका घटनाहरू धेरै हुने गरेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा नै चट्याङका घटना दैनिक नै सर्वाजनिक भइरहेका छन् ।

यो क्षेत्रमा सबैभन्दा बढी चैतदेखि जेठसम्म चट्याङ धेरै पर्ने गरेको बताइन्छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार वैशाख लागेदेखि चट्याङका घटनामा बृद्धि भएको छ । 

सुदूरपश्चिम प्रदेशमा चट्याङबाट हुने मानवीय क्षति पनि बढ्दै गएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १० वर्षमा मात्रै प्रदेशका ९६ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । 

सबैभन्दा बढी कञ्चनपुरमा २१ र कैलालीमा १९ जनाले ज्यान गुमाएका छन् भने अछाम जिल्लामा १७ जनाको मृत्यु भएको छ । डोटीमा ९, बाजुरामा ९, बैतडीमा ७ र डडेल्धुरामा ६ जनाको चट्याङका कारण मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

यस्तै दार्चुला र बझाङ जिल्लामा भने ४÷४ जनाको मत्यु भएको छ । पछिल्लो १० वर्षको विवरणअनुसार देशभरीमै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर धेरै चट्याङ खस्ने जिल्लाको सूचीमा छन् । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघगर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ । तर मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन । 

‘चट्याङको पूर्वानुमानका लागि हामीसंग प्रविधि छैन,’ उनले भनिन्, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौं ।’ उनले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गरेकी छिन् । बङ्गालको खाडी नजिक रहेका नेपालका भू–भागमा चट्याङको जोखिम सबैभन्दा बढी रहेको छ ।  

चट्याङबाट कसरी बच्ने ?
बिजुली चम्किंदा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरंग पृथ्वीमा प्रवाह हुन्छ, त्यसैलाई चट्याङ परेको भनिन्छ । चट्याङबाट बच्ने उपाय सावधानी हो ।

चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो । जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । 

बिजुली चम्किएको समयमा घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो । बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update