Paschim Express
डडेल्धुरामा १३ करोडमा बन्ने भयो ‘व्यवस्थित बसपार्क’, वनको अवरोध हट्यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण कार्य अगाडि बढ्ने भएको छ ।

जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटर टाढा डकलेमा व्यवस्थित बसपार्क बनाउने कार्य अगाडि बढ्ने भएको हो ।

बसपार्क निर्माणका लागि यसअघि वनको अवरोध रहेकोमा उक्त अवरोध हटेको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले बताए ।

`बसपार्कका लागि ठेक्का नै भइसकेको थियो,´ मेयर जोशीले भने, `तर बसपार्क निर्माण हुने क्षेत्रमा केही रुख थिए । बिहीबार उक्त वन क्षेत्र उपभोग गर्न र त्यहाँ रहेका रुख काट्नका लागि अनुमति दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । अब काम अगाडि बढ्छ ।´

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जेठमा बोलपत्र आह्वान गरेको थियो । १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान भएकोमा घटाघटमा साढे १३ करोडमा ठेक्का स्विकृत भएको छ ।
उनका अनुसार १८ महिनामा काम सम्पन्न हुने गरि सदर भएको ठेक्का कालिका–मालिका–युपी जेभिले पाएको थियो । तर, बसपार्क निर्माणमा वनको अवरोध खडा भएपछि सम्झौता गरिएको थिएन ।
बसपार्क निर्माण हुने क्षेत्र सराउलीका घाणा सामुदायिक वन क्षेत्रमा पर्छ । बसपार्क निर्माणका लागि उक्त सामुदायिक वनले ०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update