Paschim Express
बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

बैतडी । बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । ९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबारदेखि काम रोकेका हुन् ।

उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए । चिकित्सकहरुले बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सकहरुको आरोप छ । आन्दोलनरत डा. गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि अतिरिक्त भत्ता सुविधाबाट बञ्चित रहेको बताए ।

अस्पतालका प्रमुख डा. सुशील बिककाअनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा निकासा भएको अतिरिक्त भत्ता रकम अपुग भएकाले अस्पतालमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गरेबापतको पूरै रकम पाउन नसकेको बताए ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update