Paschim Express
धनगढीमा प्रहरीमाथि नै जासुसी : दिउँसो कपाल काट्ने, राति तस्करलाई सूचना दिने

कैलाली । कैलालीको धनगढीबाट प्रहरीमाथि जासुसी गर्ने दुईजना जना पक्राउ परेका छन् । तस्करहरुको तर्फबाट प्रहरीमाथि निगरानी राख्ने गरेको आरोप लागेका धनगढी-७ बस्ने बुद्दीराम चौधरी र धनगढी-९ ताराताल घर भएका ३२ वर्षीय पदम पार्की पक्राउ परेका हुन् ।

उनीहरू पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ ।

शनिवार तस्करहरूका जासुस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।  चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।चौधरीले सूचना दिएबाफत प्रति सूचना ५ सयका दरले रकम लिने गरेको बताइएको छ ।

यस्तै पार्कीले धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेका थिए । विगत ७/८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको पार्कीले प्रहरीलाई बयान दिएका छन् ।

पार्कीले बङग्राकटानदेखि भगतचोकसम्मको सूचना तस्कर समूहलाई दिने गरेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले बताए ।

दुवै जनालाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update