Paschim Express
सुदूरपश्चिममा विश्वासको मत लिन पाँच दिन बाँकी, एमालेको पुरानै अडान

डडेल्धुरा ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत लिन सकस भएको छ । उनले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् जेठ ४ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसानुसार विश्वासको मत लिने समय सकिन अब पाँच दिन मात्र बाँकी छ । तर, विश्वासको मत लिनेबारे अझै टुंगो लागेको छैन ।  लगातार दुई पटकसम्म विश्वासको मत लिने तयारी गरेर अन्तिममा पछि हटेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले तेस्रो पटक तयारी थालेका छन् ।

वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । विश्वासको मत लिनकै लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर, एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि पहिलो दिन अन्तिम समयमा विश्वासको मत लिने प्रक्रियामा ब्रेक लागेको थियो ।

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत नपाउने देखेपछि २२ गते साँझ ५ः३० बजे प्रदेश सभा बैठक आह्वान गर्न लगाएका थिए । त्यो दिन पनि एमालेले आफ्नो पुरानै अडान दोहोराएको थियो । २२ गते पनि विश्वासको मत पाउने सम्भावना नरहेपछि अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मतको लागि मुख्यमन्त्री सोडारीले केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल र परामर्श बढाइरहेका छन् । केन्द्रमा भएकै छलफलको आधारमा जेठ ३ गते विश्वासको मत लिने तयारी गरिएको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले जानकारी दिए ।

‘शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिनुभएको हो । सोही अनुसार तयारी भइरहेको हो,’ उनले भने ।

मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमालेले भने अझै विश्वासको मतका विषयमा ठोस सहमति नभएको जनाएको छ । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रबाट कुनै निर्देशन नआएको हुँदा ३ गते नै विश्वासको मत दिने विषयमा कुनै तयारी नभएको बताए ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुँदा पनि एमालेले अन्तिम समयमा मात्रै समर्थन गरेको थियो । समर्थन पछि तत्काल सरकारमा सहभागी नहुने पनि एमालेले निर्णय गरेको छ ।

सत्तारुढ घटक माओवादी केन्द्रले भने मुख्यमन्त्री सोडारीको चाँडै विश्वासको मत लिई मन्त्री मण्डल विस्तार गर्नुपर्नेमा जोड दिँदै आएको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले बजेट अधिवेशन आह्वान गर्ने र प्रिबजेट छलफलको बेला भएको भन्दै विश्वासको मत र मन्त्रीमण्डल विस्तारको कार्य चाँडै टुङ्ग्याउनुपर्ने बताउँछन् ।

सोडारीले वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष) र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनको दाबी असंवैधानिक रहेको भन्दै नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)का लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update