काठमाडाैं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारण लाइनबाट बिजुली लैजान सम्झौतापत्रमा हिजो काठमाडाैंमा भएको कार्यक्रमकाबीच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारण लाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७ सय ५० मेगावाट क्षमता भएको आयोजना हो । यो आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारण लाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारण लाइनमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो । पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ ।
एनएचपीसीले दोधारा–बरेली चार सय केभी प्रशारण लाइनमार्फत् भारत बिजुली लैजानेछ । २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।