Paschim Express
सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

कञ्चनपुर । सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेका क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।

आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सञ्जीव शाहले तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारी रहेकाे बताए । उनका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

उक्त प्रशोधन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ । रु ५२ करोड ४८ लाखमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणपछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गाप्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम सुरूभएको इञ्जिनियर शाहले जानकारी दिए । “रुख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भएपनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रुख कटानको काम भइरहेको छ”, उनले भने । यहाँ पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी रु ८८ करोडमा ठेक्का पाएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । यहाँ रु ३० करोड २५ लाखमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इञ्जिनियर शाहले बताए । एडिबीले सुदूरपश्चिमका चार सहरमा सडक पूर्वाधार स्तरोन्नतिसहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।

यहाँ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजनासहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन ।

यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको समेत बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update