Paschim Express
प्रवलीकरणमा प्राविधिकलाई दक्ष बनाउँदै  ‘सुपर’, चार दिने तालिम सम्पन्न

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा स्थानीय प्राविधिकहरुलाई निजी आवास प्रवलीकरण सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ । युरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक, युएनडिपी नेपाल, युएनओमन र युनिसेफको प्राविधिक सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को स्थानीय साझेदारीमा संचालित सहरी विपद तथा भूकम्पीय पूर्वतयारी सुपर परियोजनाअन्तर्गत तालिम भएको हो ।

तालीमको एक कार्यक्रमका बीच सहभागीलाई प्रमाणपत्र वितरण गर्दै मंगलबार समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले प्रवलीकरण सम्बन्धी चार दिने तालिम उपयुक्त समयमा गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए ।

`पश्चिम नेपालम भूकम्पको जोखिम छ,´ उनले भने, `यस्तो समयमा पुराना घरलाई पनि प्रवलीकरण गरेर बलियो बनाउने प्रविधि निकै राम्रो छ । यसको कार्यान्वयन हुन आवश्यक छ ।´ तालिममा सहभागी धनगढी उपमहानगरपालिका इन्जिनियर पदमराज भट्टले भूकम्पिय जोखिम बढी रहेको सुदूरपश्चिम क्षेत्रमा चार दिने तालिम निकै लाभदायक भएको बताए ।

`तालिममा सिकेको सीप अब कार्यान्वयनमा ल्याउने छौँ,´ उनले भने । धनगढी उपमहानगरपालिका सव इन्जिनियर पुष्पा सुवेदीले चार दिने तालिम नौलो भएको बताउदै उनले धेरै सिक्न पाएको बताइन् । बझाङको जयपृथ्वी नगरपालिकाका सव इन्जिनियर दिनेशबहादुर खड्काले भूकम्पले बझाङका ९० प्रतिशत घरमा क्षति पुगाएको बताउदै प्रवलीकरण आवश्यक रहेको बताए । `बझाङमा निजी तथा सरकारी घरहरूमा प्रवलीकरण गर्दा यो तालिमबाट सिकेको सीप निकै काम लाग्ने देखेको छु,´ उनले भने ।

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदका अनुसार तालिममा सुपर परियोजना लागू रहेको डडेल्धुराको अमरगढी नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका र कैलालीको धनगढी उपमहानगरका प्राविधिक कर्मचारीको सहभागिता रहेको थियो ।

साउँदले अहिले स्थानीय तह नयाँ बजेट ल्याउने तयारीमा रहेको बताउदै भूकम्पीय जोखिम न्यूनीकरणका योजनाले पनि बजेटमा प्राथमिकता पाउनुपर्ने बताए । साउँदका अनुसार युएनडिपीका इन्जिनियर दिवस दाहाल लगायतले तालिममा सहजीकरण गरेका थिए भने युएनडिपीका इन्जिनियर सुवास गुरुङको अध्यक्षमा तालिमको समापन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update