Paschim Express
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् । 

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो । सन्दीपलाई सफाइ दिन उच्च अदालतले केलाई आधार मान्यो खुल्न बाँकी छ । 

उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । त्यसयता पाँचपल्ट पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो । 

उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update