Paschim Express
कांग्रेस र नाउपाको नाराबाजीले सुदूरपश्चिम प्रदेशसभामा बैठक आधा घण्टाका लागि स्थगित

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरीक उन्मुक्ति पार्टी (नाउपा) ले नारावाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध भएकाे छ । आज बिहान सवा १० बजे बोलाइएको बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची थियो ।

तर सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु गरे लगत्तै कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले नाराबाजी गर्दै रोस्टम घेराउ गरेर सभा अवरुद्ध गरेका हुन् ।

गैर संवैधानिक, गैर प्रजातान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र नाउपाले प्रदेशसभा अवरोध गरेका हुन् ।

नाराबाजीपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसअघि वैशाख २ गते नागरीक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेको भए पनि त्यसलाई अस्वीकृत गरेको भन्दै कांग्रेस र नाउपाले सदनमा अवरोध गरेका हुन् । नागरीक उन्मुक्तिका २ जना सरकारमा छन् भने ५ जना सरकारविरुद्ध आन्दोलनमा छन् ।

यस विषयमा मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेकोले सदन अवरुद्ध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update