Paschim Express
सुदूरपश्चिम सरकार विस्तारमा अन्योलता

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार अन्योल बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

सत्तारुढ दलहरू सरकार विस्तारको विषयमा छलफलमै जुट्न सकेका छैनन् । नेताहरूले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि मात्रै यस विषयमा छलफल हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सरकार विस्तारको विषयमा अहिलेसम्म कुनै छलफल नगरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मात्र त्यो विषयमा छलफल हुने बताइरहेका छन् । ‘हाम्रो बीचमा अहिलेसम्म कुनै छलफल भएको छैन,’ एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले भने, ‘आज प्रधानमन्त्री ज्यूले विश्वासको मत लिनुहुन्छ, त्यसपछि मात्र सरकार विस्तारको विषय अघि बढ्छ ।’ 

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएर तत्काल सरकार बाहिरै बस्ने निर्णय गरेको नेकपा एमालेले पनि यो सम्बन्धमा कुनै छलफल नभएको बताएको छ ।

प्रदेश सरकारको सहभागिताका सम्बन्धमा पार्टी केन्द्रीय निर्देशन समेत प्राप्त नभएको एमाले प्रदेश संसदीय दलले जनाएको छ । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलले पनि शीर्ष तहबाट कुनै खालको निर्देशन प्राप्त नभएको सुनाए । 

६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएर ३ जेठमा विश्वासको मत लिएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षलाई सरकारमा सहभागी गराइसकेका छन् ।

सोडारीलाई समर्थन गरेका नाउपाका कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।

आर्थिक मामिला, सामाजिक विकास, आन्तरिक मामिला र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भने सोडारीले आफैँसँग राखेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update