Paschim Express
डडेल्धुराको भागेश्वर गाउँपालिकामा सुरु भयो नौलो अभ्यास, लागतका आधारमा दिन थालियो अनुदान

धनबहादुर भण्डारी, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका कृषि क्षेत्रको उत्पादनलाई बढाउन अनुदान दिइरहेको छ । कृषकको लागतलाई हेरेर गाउँपालिकाले अनुदान सहयोग गरिरहेको हो । 

अनुदान दिने तरिका फरक अपनाएको भागेश्वर गाउँपालिकाले बजेटको सदपयोग गर्न र कृषि उत्पादनलाई बढाउन कृषकको लागतका आधारमा अनुदान दिइरहेको जनाएको छ । धेरै कृषकहरुले अनुदानका लागि मात्रै कृषि क्षेत्रमा लगानी गरेको देखाउने कुरालाई चिर्न र लगानी उपयुक्त ठाउँमा होस् भन्ने चाहनाका साथ कृषकको लागत अनुसारको अनुदान दिने गरेको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । 

‘हिजोका दिनमा नगद वा बस्तुका नाममा किसानलाई सिधै दिएको अनुदान रकम सदुपयोग नभएपछि गाउँपालिकाले लागतको आधारमा अनुदानको अभ्यास सुरु गरेको हो,’ उनले भने । उनका अनुसार नगद वा बस्तु अनुदान नदिई लागतको आधारमा अनुदान दिने प्रक्रिया हुनुपर्ने नीतिगत निर्णय गर्दै भागेश्वर गाउँपालिका कृषि उपजको उत्पादनमा लागेको हो । कृषि उत्पादनमा लागत अनुमानको आधारमा अनुदान कार्यक्रम कार्यान्वयन भइरहेको गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताए । 

‘अनुदानको रकम रोजगारीका लागि विदेश जान बाध्य युवा पुस्ता केन्द्रित रहेको छ,’ उनले भने, ‘सबैको स्वामित्व पुगाउन र स्वदेशमै काम गर्न प्रेरित हुने गरि कृषि प्रर्वद्धनका लागि वास्तविक किसानको हातमा अनुदान रकम पुग्ने गरी यो लागत अनुमान कार्यक्रम अगाडि सारेका हौं ।’

उक्त अनुदान रकमबाट गाउँपालिका भित्रका युवा तथा कृषक वर्गले कृषि उत्पादनमा लगानी गरि मुनाफा लिने बताइएको छ । गाउँपालिका भित्रका युवा तथा जागर चलाउन सक्ने नागरिकका लागि यस कार्यक्रमले टेवा पुगाई स्वरोजगार बन्न मद्धत पुगाउने गाउँपालिकाले जनाएको छ । यो लगनी, पशुपालन, बाख्रापालन, फलफुल उत्पादन र कृषि उत्पादनमा लगाइने जनाइएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि १० लाख ३९ हजार बजेट तरकारी अनुदानका लागि छुट्याएर लगानी गरेको छ  । यस्तै गाउँपालिकासंगको पोषण विशेष सर्शत तथा बहुक्षेत्रीय पोषण योजनाअन्तरगत सुनौला हजार दिनका महिला तथा विपन्न समुदायका महिला समूह÷सहकारीहरुलाई आयआर्जनका लागि बाख्रापालन कार्यक्रमका माध्यमबाट बाख्रा वितरण गरिएको छ । गाउँपालिका भित्रका ७५ परिवारलाई बाख्रा वितरण गरिएको हो ।

भागेश्वर गाउँपालिकाअन्तर्गत संचालित दुर्गम स्थानका विपन्न महिला समूहलाई आय आर्जन गर्ने उद्धेश्यले बाख्रा वितरण गरिएको जनाइएको छ । बाख्रापालन स्वरोजगारको एउटा प्रवल भरपर्दो माध्यम बनिरहेको प्रमुख प्रशासकिय अधिकृत भारतीले बताए । पालिकाको स्विकृत बजेट १६ लाख ८८ हजार सात सय ४९ सिलबन्दी दरभाउपत्रबाट सम्झौता भएको बजेट १६ लाख ५० हजारबाट बाख्रा खरिद गरि वडा नम्बर २, ४ र ५ का २३ जनजाती र २५ दलितका गरि ७५ परिवारलाई वितरण गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update