Paschim Express
डडेल्धुराका ६ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइँदै

डडेल्धुरा । डडेल्धुरामा ६ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ । जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने र ६ हजार एक सय ८६ जना बालबालिकालाई खोप लगाइने भएको हो ।

०७३ साल वैशाखदेखि ०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रशाद भट्टले जानकारी दिए । उक्त अवधिमा जन्मिएका बालबालिकाको संख्या ६ हजार एक सय ८६ जना रहेको र सबैलाई खोप लगाउने तयारी रहेको भट्टले बताए ।

स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्लाका सात वटै स्थानीय तहमा खोप सञ्चालनका लागि आवश्यक तयारी थालेको जनाएको छ ।

मंगलबार आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले बालकालिकालाई खोपको पहुँचमा ल्याउन दुई सय ४० स्थानमा खोप लगाइने बताए । जिल्लाका ५२ वटै विभिन्न विद्यालयमा खोप केन्द्र राखिएको पनि साउदले जानकारी दिए । 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियान प्रभावकारी रुपमा संचालन गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।  `दिगो विकासको लक्ष्यसंग पनि खोप जोडिने भएकाले यो अभियानलाई सफल पार्न सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ,´ उनले भने ।

कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले खोप अभियान सफलताको शुभकामना दिए । विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update