Paschim Express
डडेल्धुरा मेडिकल कलेजमा माघदेखि कक्षा सञ्चालन

नवराज पनेरु, डडेल्धुरा । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको हो । सोही क्रममा चिकित्सा शिक्षा आयोगको टोलीले डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको छ । सुदूरपशिचम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत ५ वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगलाई अनुमति माग गरिएको थियो । ‘हामीले ब्याचुलर इन मेडिकल ल्याव टेक्नोलोजी, पब्लीक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएसी नर्सीङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौं,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।’ डिन जोशीले ५ वटा विषयका कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको जानकारी दिए । 
मंगलबार चिकित्सा शिक्षा आयोगले पठाएको चार सदस्यीय टोलीले डडेल्धुरा अस्पतालका सम्पूर्ण विभागसंगै अस्पतालमा निर्माणाधिन भवन, मेडिकल कलेजको नाममा रहेको जग्गा लगायतको अनुगमन गरेको छ । टोलीमा आयोगकी शाखा अधिकृत नारायणी जोशीसंगै प्राध्यापक भुवनकुमारी डंगोल, दिपेन्द्र झा र उपप्राध्यापक महेशप्रसाद भुषाल सहितको टोलीले अनुगमन गरेको हो । यस्तै सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी, रजिष्ट्रार यज्ञराज पाठक लगायतको पनि सहभागिता रहेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रुपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजले अनुमति पाए माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताए । ‘हामीले ५ विषयका लागि अनुमति मागेका थियौं र चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘५ वटै विषयको पनि अनुमति पाए हामी आयोगले कक्षा सञ्चालनका लागि तोकेको मितिमै यहाँ पनि कक्षा सञ्चालन गर्न सक्छौ ।’ यसवर्षदेखि ब्याचुलरका कार्यक्रम सञ्चालन गरेर अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने योजना रहेको उपकुलपति जोशीले बताए । ‘अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालन छ,’ उनले भने, ‘निर्माणाधिन भवनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवन अस्पताललाई हस्तान्तरण भए अस्पताल तीन सय शय्यामा सञ्चालन हुने छ । तीन सय शय्यामा अस्पताल सञ्चालन हुनासाथ हामी एमबिबिएसको अध्यापन पनि सुरु गर्छाै ।’
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार पाठकले माघदेखि स्नातकका कक्षा सञ्चालन गर्न डडेल्धुरा मेडिकल कलेजसंग आवश्यक सवै पूर्वाधार रहेको बताए । ‘अनुगमन टोलीले चिकित्सा शिक्षा आयोगलाई प्रतिवेदन बुझाएपछि हामीले कक्षा सञ्चालनका लागि अनुमति पाउने छौं भन्ने विश्वास छ,’ उनले भने । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले चिकित्सा शिक्षा आयोगको टोलीबाट सकारात्मक प्रतिक्रीया पाएको बताए । ‘चिकित्सा शिक्षा आयोगबाट डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमति पाउनेमा विश्वस्त छौं,’ उनले भने, ‘केही आधारभूत कुराहरु पूरा गर्न बाँकी भए पनि हामी तत्काल नै पूरा गर्न तयार छौं । आयोगबाट अनुमति पाए यसवर्ष स्नातक र अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ ।’ 
मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । तर भौतिक संरचना निर्माणका लागि डिपीआर निमार्णको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update