कैलाली । कैलालीमा यो वर्ष आलु उत्पादन ६ प्रतिशतले बढेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार ५१२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार ७६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष चार हजार ५८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार १३० मेट्रिक टन उत्पादन भएको छ ।
गत वर्षको तुलनामा यो वर्ष चार हजार ३७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए । ‘यो वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ। यो पटक हिउँदमा हुस्सु पनि लागेन’, उनले भने ‘हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।’
किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए ।