Paschim Express
आज बुद्ध जयन्ती मनाइँदै

काठमाडाैं ।  शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा गोदावरीमा रहेको साङे छ्योलिङ्ग गुम्बामा विशेष कार्यक्रम गरिदै छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update