Paschim Express
सुदूरपश्चिम सरकार विस्तार गर्न कसरत : मन्त्रीमा क–कसको सम्भावना ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि प्रयास थालिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारमा एमाले र माओवादी केन्द्रलाई ल्याउने प्रयास गरिरहेका हुन् । सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

संविधानको धारा १६८ ९२० अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत प्राप्त गरिसकेका छन् । विश्वासको मत पाए लगत्तै एक(दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

आइतबार प्रदेश सभा बैठक सकिए लगत्तै मुख्यमन्त्री सोडारीले अब केही दिनमै सरकार विस्तार हुने दाबी गरेका छन् । एकीकृत समाजवादी, प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले नेकपा एकीकृत समाजवादीको कारणले सरकार विस्तारमा ढिलाइ नभएको बताएका छन् । उनका अनुसार एमाले र माओवादी केन्द्रका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको हो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । त्यसको एक साता पनि नाउपाकै टिका थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाइन् । त्यसयता अहिले सम्म कुनै पनि पार्टीका कुनै पनि सांसदले मन्त्रीको जिम्मेवारी पाएका छैनन् ।

एमालेले सरकारमा सहभागी नभएर बाहिरबाटै सरकारलाई साथ दिने निर्णय गरेको छ । माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरूको लर्को लागिरहेको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले पनि अब सरकार विस्तारको सकस धेरै नरहने भन्दै चाँडै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । यसअघि मन्त्री भइसकेका झपट साउद र रमेश धामीलाई पुन मन्त्री बनाउने सम्भावना रहेको माओवादी उच्च स्रोतको दाबी छ । 
त्यसबाहेक अक्कल रावल वा शिवसिंह ओलीमध्ये एक जना र ओमविक्रम भाट सरल वा लक्ष्मी विक मध्ये एक जनालाई मन्त्री बनाउने विषयमा पनि तीव्र लबिङ छ ।

अर्थ मन्त्रालय माओवादीले पाउँदा खगराज भट्टलाई उक्त जिम्मेवारीमा पठाउने विषयमा पछि छलफल भइरहेको बताइन्छ । तर, भट्टले भने उक्त जिम्मेवारी लिने विषयमा भने अझै स्वीकृति जनाइसकेका भने छैनन् । माओवादीबाट आधा दर्जन बढि मन्त्रीको आकाङ्क्षीहरू तीव्र लबिङमा लागिरहेका बेला एमालेले भने कहिले सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन ।
एमालेबाट सरकारमा सहभागी हुने अवस्थामा सुरेन्द्र पाल मन्त्री बन्ने करिब पक्का जस्तै भएको एमाले स्रोतको दाबी छ । त्यस बाहेक सन्तोष शर्मा थापाले चाहना राखे उनी पनि मन्त्री बन्न सक्ने स्रोत बताउँछ । थापा मन्त्री नहुने अवस्थामा वीर बहादुर थापा, दमन भण्डारी र धर्मराज पाठक मध्ये एक जना मन्त्री बन्ने छन् । एमालेले राज्य मन्त्री पाउने अवस्थामा हिरा सार्कीको सम्भावना रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update