Paschim Express
गणतन्त्र दिवसको अवसरमा डडेल्धुरामा प्रभातफेरी

डडेल्धुरा । गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा सदरमुकाममा प्रभातफेरी गरिएको छ । मंगलबार १७औँ गणतन्त्र दिवसको अवसरमा सदरमुकामको तुफानडाँडादेखि बसपार्कसम्म प्रभातफेरी गरिएको हो । अन्तिममा बसपार्कमा आयोजना भएको कार्यक्रममा वक्ताहरुले देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई सम्झेका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी सभाध्यक्ष रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभा सदस्य  सरस्वती खड्का प्रमुख अतिथी रहेकी थिइन् । यस्तै अतिथीहरुमा अमरगढी नगरपालिका मेयर डिल्लीराज जोशी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष  लक्ष्मीप्रसाद अवस्थी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका थिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update