Paschim Express
पहिले कार्यपालिका सदस्य, अहिले डडेल्धुराकै एक्ली महिला अटोचालक बनिन् धौलीदेवी

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ की धौलीदेवी दमाई जिल्लाकै पहिलो महिला अटोचालक हुन् ।

पूर्व कार्यपालिका सदस्य भइसकेकी उनले अटो चलाउन थालेको २ महिनाभन्दा बढी भएको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट विजयी हुँदै अमरगढी नगरपालिकाको कार्यपालिका सदस्य भएकी थिइन् ।

तर, कार्यकाल सकिएपछि उनलाई घरखर्च चलाउन समस्या भएको थियो । उनका श्रीमान् पोखरा बजारमा सिलाई कटाई सम्बन्धी व्यवसाय गर्छन् । त्यतिले मात्रै घर नचल्ने अवस्था आएपछि उनले पनि केही गर्ने अठोट गरिन् । ‘राजनीति गर्दागर्दै कार्यपालिका सदस्य भएपछि महिलाले पनि केही गर्न सक्छन् भन्ने हिम्मत आयो । त्यसपछि एक बचत समूहबाट ४ लाख ऋण निकालेर अटो किनेको हुँ’ उनले भनिन् ।

441584537_469892382189940_6964552690561105865_n-1716882204.jpg

तर, अटो किनेर मात्रै भएन । चलाउन सिक्नुपर्ने समस्या उनीमाथि आइलाग्यो । तर, त्यो चुनौतिलाई चिर्दैै करिब २ महिना उनले अटो चलाउन सिकिन् । चलाउन सिकेपछि धौलीदेवीले अटो किनेकी थिइन् । अहिले उनले दिनको १५ सयभन्दा कमाई हुने बताइन् । ‘महिनाको ५० हजारसम्म कमाउँछु । त्यसमध्येबाट बचत समूहबाट लिएको ऋणको किस्ता तिर्छु । बाँकी पैसाले घरखर्च चलाउछु’ उनी भन्छिन्, ‘मेरा छोराछोरीको पढाईखर्च यसैबाट चल्छ ।’

उमेरले ४३ कटेकी उनी अटो चलाएर अमरगढी नगरपालिकाभित्र जता पनि पुग्छिन् । सबैले एक्लो महिला चालक भनेर सहयोेग र तारिफ गर्ने गरेको उनको अनुभव छ । तर, केहीले भने राजनीति सकिएपछि अहिले चालक बनेर हिँड्ने गरेको भन्दा उनको मन पोल्ने गर्छ । तर, केहीले त्यस्तो भन्दा उनी हरेस भने खाँदैनिन् ।

‘एकदुई जनाले त मेरो श्रीमानसँग ‘‘गाडीको लाइन ठिक हुँदैन । कसैले अटो बुकिङ गरेर भाउजूलाई लग्यो भने के गर्छस्’ भनेर पनि कान भरेका रहेछन्’ उनी भन्छिन्, ‘त्यसमा मेलै मसँग मान्छे चिन्ने क्षमता छ । म आफ्नो सुरक्षा आफै गर्न सक्छु भनेर श्रीमानलाई सम्झाएको थिए ।’

उनले कार्यपालिका सदस्य बनेर नै आफूमा योे हिम्मत आएको बताइन् । ‘हामी महिलाले पनि पुरुषको जस्तै काम गर्नसक्ने रहेछन् भन्ने कुरा विभिन्न तालिम पाएर सिकियो । म अहिले आफ्नो कामबाट सन्तुष्ट छु ।’

उनी आफ्नोजस्तै हिम्मत गरेर अन्य महिलालाई स्वरोजगार बन्न सुझाव दिन्छिन् । कसैले सहयोग मागे आफूले अटो चलाउन सिकाउने उनले बताइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update