Paschim Express
सुदूर पहाडमा पनि यसवर्ष बढ्यो तापमान, डडेल्धुराको तापक्रम ४ वर्षयताकै उच्च

डडेल्धुरा । यसवर्ष पश्चिम तराईका जिल्लासंगै पहाडी जिल्लामा पनि तापक्रम सरदरभन्दा बढी हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका अनुसार पहाडी जिल्लाको तापक्रम पनि यसवर्ष सरदरभन्दा बढेको छ ।

कार्यालयका प्रमुख श्यामबहादुर सुनारले यसवर्ष ५ जेठमा चार वर्षयताकै उच्च तापक्रम मापन गरिएको जानकारी दिए । ‘सन ०२० देखि डडेल्धुराको तापक्रम २९ डिग्रीभन्दा माथि पुग्न सकेको थिएन,’ उनले भने, ‘तर, यसवर्ष जेठ ५ गते जिल्लाको तापक्रम बढेर ३२।७ डिग्री सेल्सियस पुगेको थियो ।’

उनका अनुसार बिहीबार पनि डडेल्धुराको अधित्तम तापक्रम ३२।२ डिग्री सेल्सियस मापन गरिएको छ । ‘डडेल्धुरामा यसवर्ष सरदरभन्दा २ प्रतिशत तापक्रम बृद्धि भएको छ,’ उनले भने । गतवर्ष पनि जेठ ५ गतेकै दिन उच्च तापक्रम मापन भएको थियो । ०८० साल जेठ ५ गते २९।१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

यस्तै फिल्ड कार्यालयका अनुसार बिहीबार साँझ ७ बजेदेखि वर्षाको सम्भावना पछि  । ५ देखि १० मिलिलिटर वर्षा हुने अनुमान गरिएको फिल्ड कार्यालयका प्रमुख सुनारले बताए । तत्कालिन क्षेत्रीय सदरमुकाम दीपायलको तापक्रम पनि यसवर्ष बढेको छ । बिहीबार दीपायलको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update