Paschim Express
भूकम्प पीडितका घरमै पुगेर मुख्यमन्त्रीले भने - राहतका लागि कुनै कसर बाँकी राखिने छैन

बझाङ ।  मंगलबार भूकम्प गएपछि प्रभावित बनेका बझाङवासीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज भेटेका छन् । आज उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत अनुगमन गरेका हुन् ।

टोलीले स्थानीका घरमै पुगेर दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको थियो ।  स्थानीयसँगको भेटमा मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले स्थलगत अनुगमन सकिएपछि चाँडै राहत घोषणा गर्ने प्रतिवद्धता समेत जनाए । 

मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो । पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ६.३ म्याग्निच्युड र त्यसपछिका भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई र अछाममा एक निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । 

भूकम्पले सात पहाडी जिल्लाका तीन सय दुई घरमा आंशिक क्षति पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बझाङमा दुई सय ७७ घर छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का अनुसार निजी घरबाहेक सातवटा विद्यालय भवन, एउटा स्वास्थ्य चौकी र २५ वटा सरकारी भवनमा पनि आंशिक क्षति पुगेको छ।

भूकम्पका कारण तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर पुगेका छन् । भूकम्पपीडितलाई बस्न तीन सय ७८ सेल्टर बनाइएको छ, जसमध्ये सबैभन्दा बढी बझाङमा तीन सय ४१ छन् । भूकम्पमा परी एक महिलाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।

 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update