Paschim Express
डडेल्धुराका स्थानीय तहलाई झण्डै साढे २ अर्ब अनुदान, कुन पालिकालाई कति ?

डडेल्धुरा । संघीय सरकारले आगामी आर्थिक वर्ष ०८१÷०८२ मा डडेल्धुराका सात स्थानीय तहका लागि झण्डै साढे दुई अर्ब विनियोजन गरेको छ । देशभरका पालिकामा वितरण हुने तीन खर्ब १२ अर्ब बढी संघीय अनुदानमध्ये डडेल्धुराका सात पालिकालाई दुई अर्ब ४४ करोड ३७ लाख छुट्याइएको हो । 

जिल्लामा सबैभन्दा बढी सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका लागि ४४ करोड ८९ लाख छुट्याइएको छ भने सबैभन्दा कम आलिताल  गाउँपालिकाका लागि २८ करोड चार लाख छुट्याइएको अन्तर सरकारी वित्तीय हस्तान्तरणमा उल्लेख छ । 

यस्तै, परशुराम नगरपालिकाका लागि ४४ करोड ६६ लाख, अजयमेरु गाउँपालिकाका लागि ३४ करोड १६ लाख, गन्यापधुरा गाउँपालिकाका लागि २९ करोड ५६ लाख, नवदुर्गा गाउँपालिकाका लागि ३० करोड ५ लाख र भागेश्वर गाउँपालिकाका लागि ३३ करोड एक लाख छुट्याइएको छ । 

समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानबापत उक्त रकम स्थानीय तहहरुले पाउन लागेका हुन् । जिल्लाका सात वटै स्थानीय तहको आन्तरिक आम्दानी न्यून भएकाले चालू र पुँजीगततर्फको खर्च सञ्चालनका लागि संघीय र प्रदेश सरकारले दिने अनुदानको भर पर्नुपर्ने अवस्था छ ।

यस्तै सुदूरपश्चिम प्रदेशले भने झण्डै १४ अर्ब संघीय अनुदान पाउने भएको छ । आगामी आर्थिक वर्ष ०८१÷८२ मा वितरण हुने ९६ अर्ब ४५ करोड आठ लाख रुपैयाँमध्ये सुदूरपश्चिमका लागि १३ अर्ब ८३ करोड २१ लाख रुपैयाँ अनुदान राखिएको छ ।

समानीकरणमा आठ अर्ब ७२ करोड २७ लाख रुपैयाँ, ससर्तमा तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ, विशेषमा ५५ करोड ६० लाख रुपैयाँ र समपूरकमा एक अर्ब ४२ करोड रुपैयाँ अनुदान दिइनेछ ।


 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update