Paschim Express
सुदूरपश्चिमको राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने, यस्तो छ नीति तथा कार्यक्रम

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आइतबार प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनामा बजेट विनियोजन उच्च प्राथमिकताका रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ ।

प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको हो । प्रदेश प्रमुख मियाँले प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको–२ र ४ मा तोकेको थियो ।

तर, लामो समयदेखि राजधानी तोकेको क्षेत्रमा कुनै काम हुन नसक्दा राजधानी अन्य ठाउँमा सार्न लागिएको समेत चर्चा चल्ने गरेको थियो । नीति तथा कार्यक्रम राजधानी निर्माण गरिने भनिएपनि कुन ठाउँमा कसरी गर्ने भन्ने बारेमा खुलाइएको छैन ।

यस्तै सुदूरपश्चिम सरकारले कमैया कमलरी हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषय पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारकाले कमैया कमलरी हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ ।

गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न छात्रवृत्ति दिइने विषयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा राखिएको छ ।

त्यसैगरि नीति तथा कार्यक्रममा हालसम्म पनि सडक सञ्जालसँग नजोडिएका बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपीहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडी बढाइने बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update