Paschim Express
डडेल्धुरामा अमरसिंह थापाको नयाँ सालिक अनावरण, यस्तो छ कारण

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक अनावरण गरिएको छ ।

सोमबार अमरगढी नगरपालिकाको आयोजनामा भएको एक औपचारिक कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज जोशीले थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरेका हुन् । थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो । 

सालिक अनावरण गर्दै मेयर जोशीले किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ सालिक राखिएको बताए । ‘धेरैले बडाकाजी थापाको अनुहारसंग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका थिए,’ मेयर जोशीले भने, ‘झण्डै एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौं ।’

मेयर जोशीले अमरगढी किल्ला लगायतका ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन आवश्यक रहेकोमा पनि जोड दिए । कार्यक्रममा परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी, नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापा, अर्जुन बाण गण र रणबम गणका प्रमुख, डडेल्धुरा अमरगढी नगरपालिकाका पूर्वमेयर मोहनराज पाठक, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । यस्तै किल्लामा नेपाली सेनाको सिघ्र प्रभाव परियोजनाअन्तर्गत प्राप्त बजेटबाट ढुङगा छाप्ने काम पनि सम्पन्न भएको छ । कार्य सम्पन्नपछि सेनाले नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ । 

अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ । नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल १८४७ सालमा नेपाल एकीकरण शिलशिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास छ । 

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गरेको बताइन्छ । 

०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले ०५६ सालमा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । ०५८ सालमा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । 


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update