Paschim Express
परशुराममा यू–१९ सुदूरपश्चिम छनोट : डडेल्धुरालाई हराउँदै बैतडी फाइनलमा

डडेल्धुरा । कप्तान नरेन भट्टको अलराउन्डर प्रदर्शनले  बैतडी वाई वाई यू १९  एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा फाइनलमा प्रवेश गरेको छ। समूह ए मा रहेको बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगेको हो। 

आज सम्पन्न लिग चरणको अन्तिम खेलमा डडेलधुरामाथि ४ विकेट जित निकाल्दै बैतडी उपाधि नजिक पुगेको छ।  डडेलधुराले दिएको १०९ रनको लक्ष्य  बैतडीले २७।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा कल्पेश चन्दले २६,दीपेश बोहराले १९ र कप्तान नरेन भट्टले १६ रनको योगदान गरे । 

डडेलधुराका किरण देउवा ३ र नीरज ऐरले २ विकेट हात पारे। त्यसअघि परशुराम नगरपालिका १२ स्थित  जोग बुढा रंग मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेलधुरा २६ ओभरमा १०८ रनमा अलआउट भयो। 

उसका राजेश ऐरले ४१,सचिन साउदले २० रन बनाए। बैतडीका लागि कप्तान नरेन भट्टले ३ विकेट झारे। म्यान अफ द म्याच समेत भएका नरेनले ७ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट चट्काएका हुन्। यस्तै सचिन भट्ट र आकाश चन्दले १(१ विकेट लिए ।

लगातार ३ खेल जित्दै समूह ए बाट अङ्कतालिकाको शीर्ष स्थानमा रहँदै  फाइनल पुगेको बैतडीले उपाधिका लागि समूह बी को शीर्ष टोलीसँग भिड्नेछ। 
समूह बी का खेल पर्सिदेखि र फाइनल खेल असार १ गते हुनेछ। जेठ २० गतेदेखि सुरु  प्रतियोगितामा  क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । 

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो। दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबिच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update