Paschim Express
मनसुन सुरु हुनै लाग्यो, सुदूरपश्चिममा अझै बनेन विपत् प्रतिकार्य योजना

डडेल्धुरा । मनसुरु सुरु हुन अब एक साता मात्रै बाँकी छ । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ अब छिट्टै नेपाल भित्रिने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अब केही दिनभित्र मनसुन नेपाल प्रवेश गर्ने सम्भावना धेरै छ ।

मनसुन नजिकिए पनि यसवर्षका लागि सुदूरपश्चिम प्रदेशको मनसुनजन्य विपत् प्रतिकार्य योजना भने बन्न सकेको छैन । विपतपूर्व आवश्यक तयारी तथा विपत्का बेला खोज उद्धार गर्न र विपत्पछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ । 

विभिन्न मन्त्रालयले बेलैमा विपतसम्बन्धी तथ्याङ्क उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार यस प्रदेशमा मनसुनजन्य विपत्बाट पाँच हजार पाँच सय घरपरिवार प्रभावित हुने छन् ।

झण्डै एक हजार पाँच सय घरपरिवार विस्थापित हुने प्रक्षेपण गरिएको छ । यो प्रदेशको कैलाली तथा कञ्चनपुरमा बाढी तथा पहाडमा पहिरोका कारण सर्वसाधारण विस्थापित हुने गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा विपत्का घटनाबाट एक वर्षमा ३१ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत साउनदेखि हालसम्म १४ पुरुष र १७ महिला गरेर ३१ जनाले ज्यान गुमाएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update