Paschim Express
अप्ठेरोमा सुदूरपश्चिम सरकार 

धनगढी । सत्ता साझेदार दलको असहयोगले सुदूरपश्चिम प्रदेश सरकार अप्ठेरोमा परेको छ । साझेदार दलकै असहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता जोगाउन अप्ठेरो पर्ने देखिएको हो । 

सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ५१ दिन वितेको छ भने विश्वासको मत लिएको २३ दिन पुरा भएको छ । तर, उनले प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । तीन सदस्यीय मन्त्रीमण्डलको भरमा सरकार चलाउदै आएका सोडारीलाई सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री बपठाउँदा सरकारका कामकारवाही नै प्रभाववित हुने खतरा बढेको छ ।

संविधान अनुसार आगामी आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने बाध्यता छ । तर जेठ अन्तिम सातासम्म पनि बजेट बनाउने जिम्मा पाएको अर्थमन्त्रालय मन्त्रिविहीन छ । बजेट निर्माणको समयमा अर्थमन्त्रालय नै खाली राख्दा मुख्यमन्त्रीमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

सोडारीमाथि मन्त्रिमण्डल विस्तार नै गर्न नसकेको भनेर टिप्पणी भइरहँदा त्योभन्दा बढी सत्तारुढ दल नेकपा एमालेको नियतमाथि प्रश्न उठेको छ । मुख्यमन्त्री सोडारीको नियुक्तीदेखि विश्वासको मत दिँदा र सरकारलाई पूर्णता दिनेसम्म एमालेले अनेकन अड्को हाल्दै गएपछि हालसम्म सरकारले पूर्णता पाउन नसकेको प्रस्टै छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसक्नु प्रदेशकै लागि दुर्भाग्य भएको टिप्पणी गरेको छ । विहीबार बसेको प्रदेशसभा बैठकमै कांग्रेस प्रदेशसभा सदस्य मेघराज खड्काले सरकार विस्तार नहुँदा मन्त्रालयका कामकारवाही अस्तव्यस्त भएको भन्दै आपत्ति जनाए ।

नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएर सरकार चलाएका मुख्यमन्त्री सोडारीले बाँकी चार मन्त्रलाय आफैले सम्हालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update