Paschim Express
परशुराममा यू–१९ सुदूरपश्चिम छनोट : डडेल्धुराले डाेटीलाई हरायाे

बैतडी । वाईवाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ए का लिग चरणका सबै खेल सम्पन्न भएका छन्।

उक्त समूहको अन्तिम खेलमा आज डडेल्धुराले डोटीलाई ३ विकेटले पराजित गर्यो। जितका लागि पाएको १५० रनको लक्ष्य डडेल्धुराले ३६ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। जसमा कृष्ण भट्टले सर्वाधिक ३८ रनको योगदान गरे। डोटीका आयुस द्वारियाले २ विकेट लिए।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेको डोटी २९।५ ओभरमा १४९ रनमा अलआउट भयो। उसका आयुस द्वारिया र योगेश सुतारले समान ५२, ५२ रन जोडे । डडेल्धुराका कैलाश ऐरले ५ विकेट झारे । कैलाश खेलका म्यान अफ द म्याच समेत चुनिए ।

डडेल्धुरा र डोटी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको स्कोरर लोकेश जोशीले जानकारी दिनुभयो । फाइनल पुगेको बैतडीले उपाधिका लागि समूह बी को शिर्ष टोलीसंग भिड्नेछ। समूह बी का खेल भोलिदेखि हुँदैछन्। भोलिको खेलमा अछाम र बझाङ भिड्नेछन् ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो।

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताउनुभयो। प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update