Paschim Express
खेलकुदमा फड्को मारिरहेको परशुराम नगरपालिका, यसरी प्राप्त हुँदैछ सफलता

डडेल्धुरा । नेपालमा राष्ट्रिय बाहेकका खेलहरू प्रायः टर्फ पिचमा हुँदैनन् । स्तरीय प्रतियोगिता पनि म्याटमा खेलाइन्छ । तर, डडेल्धुराको परशुराम नगरपालिकाको सहकार्यमा रंग मैदानमा यू–१९ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भने टर्फ विकेटमा भइरहेको छ । 

नेपाल क्रिक्रेट संघ सुदूरपश्चिमले स्थानीय तहको सहयोग पाएपछि पहिलोपटक टर्फ पिच बनाएर पहाडी जिल्लामा क्रिकेट आयोजना गरेको हो । टर्फ पिच बनाएर प्रतियोगिता सञ्चालनका लागि परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी नेतृत्वको टिम सक्रिय भएको थियो । 

प्रतियोगिताका लागि मैदान तयार पार्दै परशुरामका मेयर भरत बडायर जोशी लगायतको टोली

हुन त परशुराम नगरपालिकाले अघिल्लो वर्षदेखि पालिकाको आफ्नै क्रिकेट टोली पनि बनाएको छ । ‘क्रिकेटको मात्रै नभएर सबै खेलका पालिकास्तरी टिम बनाउने हाम्रो योजना छ,’ परशुराम नगरपालिकाका मेयर जोशी भन्छन्, ‘त्यसपछि देशभर आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन पनि हामीलाई सहज हुन्छ ।’

क्रिकेटको टिम बनाएपछि परशुरामले पहिलोपटक कैलाली प्रिमियर लिगमा सहभागिता पनि जनाएको छ । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेको परशुराम उपविजेता भएको छ ।

कैलाली प्रिमियर लिगमा सहभागिता जनाएर उपविजेता बनेको परशुरामको क्रिकेट टोलीसंग मेयर जोशी

परशुराम नगरपालिकाका पहिलेदेखि नै खेलाडी उत्पादनमा डडेल्धुरा जिल्लामै अगाडि छ । तर, पर्याप्त प्रतियोगिता नहुँदा र अवसर अभावका कारण खेलाडीहरु पलायन भइरहेका थिए । कतिपय खेलाडी भने कलिलै उमेरमा खेल जीवनबाट सन्यास लिइरहेका थिए । तर, अहिले परशुराम नगरपालिकाले खेलमा लगानी बढाएको छ । ‘विकास, निर्माणसंगै हाम्रो प्राथमिकतामा खेलकुद पनि परेको छ,’ मेयर जोशी भन्छन्, ‘खेलकुदमा लगानी मात्रै नभएर विद्यालयबाटै खेलकुदका गतिविधि बढाएका छौं । जसको प्रतिफल राष्ट्रपति रनिङ शिल्डमा पनि मिलेको छ ।’

परशुराम नगरपालिकाले पछिल्ला दुई वर्षमा डडेल्धुरा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरा सदरमुकामस्थित टुँडिखेल भएको थियो । प्रतियोगितामा सर्वाधिक २० स्वर्ण, १२ रजत र सात कास्य पदकसहित परशुराम नगरपालिकाले शिल्ड जितेको थियो । 

१४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल परशुरामको टोली

राष्ट्रपति रनिङ शिल्ड मात्रै नभएर डडेल्धुरा जिल्लाभर र अन्यत्र हुने प्रतियोगितामा परशुरामको सहभागिता बढ्दै गएको छ । पछिल्लोपटक अजयमेरु गाउँपालिकाकाले आयोजना गरेको पुरूष भलिबल प्रतियोगितामा पनि परशुराम नगरपालिकाको टिम सहभागी थियो । उक्त पलिकास्तरीय प्रतियोगितामा पनि परशुराम नगरपालिकाले उपाधि जितेको छ । 

यसै महिला भएको दोश्रो सस्करणको द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगितामा पनि परशुराम नगरपालिकाले उपाधि चुमेको छ । फाइनल खेलमा झिल्को न्यूज डटकमको टिमलाई ५ रनको हराउँदै परशुराम नगरपालिका च्याम्पियन भएको थियो ।

द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगितामा उपाधि जित्न सफल परशुराम नगरपालिकाको टिम 

नगरपालिकाले स्तरीय खेलाडी उत्पादनका लागि हरेक वर्ष मेयर–उपमेयर कप पनि गर्दै आएको छ । पछिल्लोपटक परशुराममा रहेको रंग मैदानमा ‘नगरस्तरी चौथो मेयर, उपमेयर कप भलिबल तथा प्रथम पुरुष मेयर कप क्रिकेट प्रतियोगिता २०८०’ सम्पन्न भएको छ ।

सोही प्रतियोगिताबाट नगरपालिकाकाले क्रिकेट र भलिबलका टिम पनि बनाएको हो । खेलकुदलाई स्थानीय तह, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म विकास गर्ने उद्येश्यसहित ‘नगरस्तरी चौथो मेयर, उपमेयर कप भलिबल तथा प्रथम पुरुष मेयर कप क्रिकेट प्रतियोगिता २०८०’ आयोजना गरिएको थियो । 

खेलकुदका गतिविधिसंगै खेल पूर्वाधारमा पनि लगानी बढाएको परशुराम नगरपालिकाका मेयर जोशी बताउँछन् । ‘रंग मैदानलाई व्यवस्थित बनाउनका लागि विस्तृत योजना प्रतिवेदन अर्थात् डीपीआरको काम भएको छ,’ जोशीले भने, ‘झण्डै १७ करोड लागत लाग्ने अनुमान छ । प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नेछन् भन्ने अपेक्षा गरेका छौं ।’

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update