Paschim Express
डडेल्धुराका मझौला उद्यमीहरूलाई विपद जोखिम हस्तान्तरणबारे अभिमुखीकरण, बिमा गर्न आग्रह

डडेल्धुरा । साना तथा मझौला उद्यमीहरुलाई विपद जोखिम हस्तान्तरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरीएको छ ।

युरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक, युएनडिपी नेपाल, युएनओमन र युनिसेफको प्राविधिक सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को स्थानीय साझेदारीमा संचालित सहरी विपद तथा भूकम्पीय पूर्वतयारी सुपर परियोजनाअन्तर्गत अभिमुखिकरण कार्यक्रम भएको हो । 

कार्यक्रममा विपद पूर्वतयारी तथा जोखिमको प्रभाव न्यूनिकरण गर्न र जोखिम हस्तान्तरण गर्नका लागि घर तथा सम्पत्तिको बिमा गराउन आग्रह गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण सुदूरपश्चिमका प्रमुख हृदयश्वर पण्डितले जोखिम हस्तान्तरणका लागि आर्थिक अवस्था कमजोर भएको परिवारका लागि बिमा झनै आवश्यक रहेको बताए । `सुदूरपश्चिम विपदको निकै जोखिममा रहेको छ,´ उनले भने, `यस्तो अवस्थामा आफ्नो घर तथा सम्पत्तिको बिमा गरेर जोखिम हस्तान्तरण गर्नका लागि सबैले अग्रसर हुन आवश्यक छ ।´

उक्त कार्यक्रम पश्चात शहरी विपद व्यवस्थापनका लागि सयुक्त रुपमा प्रतिकार्य क्षमता अभिबृद्धि गरी सहकार्य गर्दै अगाडि बढ्ने, पालिकाभित्र हुनसक्ने विपद जोखिम हस्तान्तरण गर्ने कार्यमा सहयोग र सहकार्यसहित हातेमालो गर्ने, पालिकामा विपद जोखिम बिमा सम्बन्धि कार्यविधी बनाउनका लागि पहल गरी पालिका भित्रका संरचना तथा व्यापार व्यवसायलाई थप सहयोग गर्ने र अन्य सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

कमजोर भौगर्भिक तथा भूधरातलीय अवस्था, मौसमी विसमता, जलवायु परिवर्तन, बढ्दो अव्यवस्थित शहरीकरण लगायतका कारण डडेल्धुरामा पनि विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्को जोखिम उच्च रहेको छ ।

यस्तो अवस्थामा बीमा गरेर पनि विपद्को जोखिम हस्तान्तरण गर्न सकिने भएकाले अन्तरक्रिया गरिएको ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक साउँदले बताए ।

‘जोखिम हस्तान्तरण भनेको कुनै एउटा व्यक्ति वा संस्था वा कम्पनीसंग निहित जोखिमलाई अर्को व्यक्ति वा कम्पनीलाई बाड्ने वा हस्तान्तरण गर्ने कार्यलाई जनाउँछ,’ उनले भने, ‘यस प्रकृयालाई बीमा कम्पनीहरूले विभिन्न प्रकारका जोखिम बहन गरिदिने व्यवस्था गरेका छन् ।

यसै प्रकृयालाई जोखिम हस्तान्तरण प्रकृया भनिन्छ ।’ बीमा गरेर जोखिम बहन गरिदिएबापत केही शुल्क लिने र क्षति भएको अवस्थामा क्षतिपूर्ति बापतको शर्त बमोजिमको रकम भुक्तानी गर्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update