Paschim Express
डडेल्धुराका ५ स्थानीय तहले खाना र विविधमा खर्च गरे ३७ लाख, कुन पालिकाले कति ?

डडेल्धुरा ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, डडेल्धुराका स्थानीय तहले औचित्यमा नरहेर मनपरी ढंगबाट खानामा खर्च गरेको पाइएको छ । 

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा जिल्लाका ५ वटा स्थानीय तहले ३७ लाख १९ हजार जति रकम खाना र विविधमा शिर्षममा खर्च गरेका छन् ।  जिल्लामा सबैभन्दा बढी नवदुर्गा गाउँपालिकाले खाना तथा विविधतर्फ मात्र ९ लाख ६३ हजार ८ सय १० खर्च गरेको पाइएको छ । नवदुर्गाले विविध खर्चमध्ये सभा सञ्चालन कार्यमा मात्र ९० हजार २१० खर्च गरेको छ । 

यस्तै परशुराम नगरपालिकाले खाना तथा विविधतर्फ ८ लाख ८४ हजार ७ सय २ खर्च गरेको छ ।  विविध खर्चमध्ये सभा सञ्चालन कार्यमा मात्र ३ लाख ७३ हजार ७५८ खर्च गरेको छ । 

यसैगरि गन्यापधुरा गाउँपालिकाले उक्त शिर्षकमा ८ लाख ५४ हजार ४ सय खर्च गरेको छ।  उता अजयमेरु गाउँपालिकाले सोही शिर्षकमा ८ लाख ६७ हजार खर्च गरेको छ । उसले विविध खर्चमध्ये सभा सञ्चालन कार्यमा मात्र १ लाख ५० हजार खर्च गरेको छ । 

त्यस्तै भित्री मधेसमा रहेको आलिताल गाउँपालिकाले गत आवमा खाना तथा विविधतर्फ १ लाख ३५ हजार ४५२ खर्च गरेको छ । उसले विविध खर्चमध्ये सभा सञ्चालन कार्यमा मात्र १ लाख खर्च गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update