Paschim Express
बैतडीमा ५१ वर्षीय पुरुष मृत भेटिए, शिक्षिकाद्वारा हत्या स्वीकार

बैतडी । बैतडीको पाटनमा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेकी महिलाले ती पुरुषको हत्या गरेको स्वीकार गरेकी छिन् । पाटनकी २६ बर्षीया भागरथी बिष्टले वडा नम्बर ६ का ५१ वर्षीय विरभान बिष्टको हत्या गरेको स्वीकार गरेकी हुन् । 

बिष्टको शव पनि फेला परिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयानसमेत दिएकी छन् । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन् ।

शव भने नजिकैको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । बिष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् । प्रारम्भीक अनुसन्धानअनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी हुन् ।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएकी थिइन् । उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ । शव व्यवस्थापन गर्न सहयोग गर्ने अटो चालकलाई प्रहरीले खोजिरहेको छ ।

हत्याको कारण भने अझै खुलेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ । स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update