Paschim Express
बैतडीका विरभानको हत्याः शव व्यवस्थापन गर्नेहरु डडेल्धुराबाट पक्राउ

बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ की २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ ।

भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए ।

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए ।

मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update