Paschim Express
प्राङ्गारिक कृषि खेतीतर्फ आकर्षित हुँदै डडेल्धुराका कृषक

डडेल्धुरा । डडेल्धुराका कृषक पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीतर्फ आर्कषण बढाउन थालेका छन् । करिब चार वर्षबाट डडेल्धुराका अगुवा कृषकले प्राङ्गारिक तरकारी खेती गर्न थालेका हुन् । 

रसायनिक मल र बिषादीको प्रयोग नगरी प्राङ्गारिक मल र वनस्पती वा जैविक बिषादीको प्रयोग गरि आलु लगायत विभिन्न तरकारी उत्पादन गर्ने लक्ष्यका साथ प्राङ्गारिक मिसन तरकारी खेती गरिँदै आएको छ । डडेल्धुरा जिल्लाकोे अमरगढी नगरपालिका–१ तडीबटा र ठूलीखालीमा करिब एक सय २० रोपनी जमिनमा प्रांगारिक मिसन तरकारी खेती नामबाट व्यवसायीक नगदे बालीको खेती गरिदै आइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि ज्ञान केन्द्र डडेल्धुराले चार वर्ष पहिलेबाट प्राङ्गारिक मिसन तरकारी खेती सञ्चालन गर्दै आएको जनाएको छ । यसले हरेक वर्ष नयाँनयाँ व्यवसायिक कृषि खेती गर्ने अगुवा कृषक छनोट गरेर मिसन प्राङ्गारिक खेतीका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइएको छ । 

बिषादीको प्रयोगले मानव स्वास्थ्यसंगै माटोको उर्वरशक्ति नाश हुँदै जाने भएकाले प्राङ्गारिक मिसन तरकारी खेती बिस्तार गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताए । उनले भने, ‘प्रदेश सरकारले प्राङ्गारिक मिसन तरकारी खेती माटोको उर्वरशक्ति ह्रास हुनबाट जोगाउन पनि सञ्चलान गरेको हो। यसको प्रभाव विस्तार देखिन्छ ।’

बिषादीले उत्पादनमा ह्रास आउन नदिन कृषि ज्ञान केन्द्र डडेल्धुराले मिसन थालेको हो । ‘पहिले बिषादी प्रयोग थियो होला अहिले यो कार्यक्रमले बिषादी प्रयोग न्युन भएको छ कृषकलाई माटोको उर्वरशक्ति नाश हुने चिन्ता हामीले गराएका छौ।’ कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरुले भने। 

पहिलेदेखि थालियो यो अभियानमा अहिले अमरगढी नगरपालिका वडा नम्बर १ ठूलीखालीमा नयाँ संरचना निमार्ण अन्र्तगत खेतीबारीको घेरबार हुँदैछ । प्राङ्गारिक मिसन तरकारी खेती गरिरहेका यहाँका कृषकको तरकारी बाली जङ्गली जनावरहरुबाट जोगाउन काँडेतारले खेतीबारी घेरबार गर्न थालिएको ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

यहाँ अहिले बेमौसमी तरकारी तथा उन्नत जातका बिउ उत्पादन समेत गरिहेको स्थानीय कृषक प्रकाश ऐरले बताए । उनले भने, ‘हामीले अहिले प्राङ्गारिक कृषि खेती गरिरहेका छौँ। गोठेमल, गड्यौले मल तथा रासायनिक मलको प्रयोग गरिरहेका छौँ, उत्पादन राम्रो छ।’

प्राङ्गारिक तरकारी उत्पादन अन्र्तरगत तडीबाटाका अगुवा कृषक दत्तराज अवस्थीले प्लाष्टिकका टर्नेल बनाई आलुको मूल बीउ उत्पादनसंगै टमाटर, सिमी, रायो, भ्यान्टा खेती गर्दै आईरहेका छन । उनले फर्सी, काँक्रा खेती समेत गरेका छन ।  

भागेश्वर एग्रीकल्चर एण्ड लाईफस्टर प्रालीका नामक कृषि फर्मबाट उनले आलुको मूल बिउ समेत उत्पादन गर्दै आईरहेका छन । अहिलेको समयमा ठूलीखालीमा उत्पादित तरकारी ढुवानीमा समस्या हुने गरेको कार्यालय प्रमुख पनेरुले बताए  । कच्चि सडक भएकाले बर्षायाममा पानी आउँदा यातायात सेवा बन्द हुने गरेको कृषक खेमराज अवस्थीले बताए । उनले भने, ‘सडक मर्मत सरसफाई समयमै हुँदैन। स्तरोउन्नती पनि हुँदैन्, त्यसकारण ढुवानीमा समस्या हुने गरेको छ, पिठ्यूमा बोकेर सडकमा लगेर बिक्री गर्नुपर्ने बाध्यता छ।

मिसन अनुसार कृषि ज्ञान केन्द्र डडेल्धुराले पछिल्लो वर्षमा पनि अनुदान सहयोग गरेको जनाएको छ । सुदूरपश्चि प्रदेश भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदान सहयोगबाट जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ कोरालका कृषकलाई बेमौसमी तरकारी उत्पादन गर्न २५ वटा प्लाष्टिकका टनेल निर्माण गरेको कृषकहरुको भनाई छ । 

प्लाष्टिकका टनेल निर्माणसंगै  गँड्यौले मल, झोल मल बनाउने विधि लगायत बिषयमा चालु आर्थिक बर्षको बजेटबाट काम भइरहेको ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख पनेरुले बताए । 

उता जिल्लाको भित्रि मधेशमा पर्ने परशुराम नगरपालिका वडा नम्बर २ पनि  प्राङ्गारिक मिसन तरकारी खेती विस्तारका लागि २५ वटा प्लाष्टिकका टनेल निर्माण, झोल मल बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरिरहेको छ । डडेल्धुरालाई तरकारी र फलफुलको व्यावसायीक रुपमा उत्पादन बढाउन मिसन सञ्चालन गरिएको ज्ञान केन्द्र डडेल्धुराको दाबी छ । 

भित्रि मधेश जोगबुडाको चुरे पर्वत परशुराम नगरपालिका–७ मलासमा तरकारी र फलफुल पकेट क्षेत्रका हो ।  सुन्तला जातका फलफुल र तरकारी खेती गर्न अनुदानबाट एक सय घरधुरी लाभान्वित भएको ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

भित्र मधेशको आलिताल गाउँपालिकाका चार वडा गाउँमा जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेशनल कोअपरेसन (जिआइजेड) जलवायुमैत्री कृषि खेती अन्तर्गत कृषकलाई जैविक तथा प्राङ्गारिक बनाउने विधि तथा  गँड्यौले मल बनाउने तरिका सिकाई रहेको डडेल्धुरा र डोटी कलस्टर संयोजक गणेश ओझाले बताए । डडेल्धुरामा तीन हजार बढी हेक्टर क्षेत्रफलमा तरकारी खेती हँुदै आएको छ । 

कृषि पेशामा हजारौ गँड्यौलाहरु सहयोगी
डडेल्धुराका कृषकलाई अहिले कृषि गर्ने हजारौ गँड्यौलाहरुले सहयोगी भुमीका खेलिरहेका छन् । तीन महिना भित्रै जैविक मल उत्पादन गरेर कृषि पेशामा गँड्यौलाहरु सहयोगी बन्नेका छन् ।

खेतको किनारमा गोठे मल राखेर बर्षसौसम्म पखिर्नु पर्ने समस्या गँड्यौला मलको प्रयोग गर्ने अमगरगढी नगरपालिका ७ डडेल्धुराका कृषक चन्द्रा खड्काले बताइन् । गँड्यौला मलका लागि चाहिले युनिटको निमार्णका लागि आर्थिक सहयोग जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेशनल कोअपरेसन (जिआइजेड) नेपालले गरेपछि कृषकहरु खुसी छन् । 

उनले गँड्यौलले मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । मल बढेपछि व्यावसायिक रुपमा गँड्यौलाको उत्पादन गर्न थाले योजनामा छन् । अहिले पनि आवश्यकता भन्दा बढी गँड्यौला उत्पादन भइसकेका छन् । 

माटोको उर्वरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गँड्यौला मल निकै उपयोगी हुन थालेको कृषि प्राविधिकको भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update