Paschim Express
डडेल्धुराका स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम, यस्ता छन् प्राथमिकता

डडेल्धुरा । डडेल्धुराका अधिकासं स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको चार पालिकाकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसकेका छन् भने तीन पालिकाले आइतबार र सोमबार ल्याउने तयारी गरेका छन् । नेपालको संविधानअनुसार स्थानीय सरकारले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकाले स्थानीय तहहरूले सोहीअनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट ल्याउने तयारी थालेका हुन् । 

अजयमेरु गाउँपालिकाकाले भने जेठ ३२ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबैभन्दा बढी कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । कृषिसंगै, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याइएको र अहिले छलफल जारी रहेको अध्यक्ष भट्टले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि पालिकाले झण्डै ४७ करोडको बजेट ल्याउने तयारी गरेको छ । 

यस्तै असार ७ गते भएको गन्यापधुरा गाउँसभाको १८औं अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिँदै पालिका अध्यक्ष इन्द्र कार्कीले १० गते ४१ करोड बढीको बजेट ल्याउने तयारी रहेको जानकारी दिए । 

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए । ‘आगामी आर्थिक वर्षका लागि झण्डै ४५ करोडको बजेट ल्याउने तयारीमा हामी जुटेका छौं,’ उनले भने, ‘तर, उक्त बजेटको धेरै ठुलो हिंस्सा भने चालू तर्फको खर्च व्यवस्थापनमा लाग्ने देखिएको छ ।’

उता नवदुर्गा गाउँपालिकाकाले भने आइतबार नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले आइतबार नीति तथा कार्यक्रम र सोमबार बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको र बजेटको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार कृषिमा यान्त्रिकरण र अनुदान, अगुवा किसानलाई परिचयपत्र वितरण, विद्यार्थीसंग नगरप्रमुख कार्यक्रम सञ्चालन, परशुराम धामलाई नगर गौरवको योजनाको रुपमा अगाडि बढाउने योजना नीति तथा कार्यक्रममा अटाएका छन् । 

आलिताल गाउँपालिकाले भने नीति, कार्यक्रम तथा बजेट सोमबार ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार ४६ करोडको हाराहारमी बजेट ल्याउने तयारी भइरहेको छ ।

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाकाले पनि नीति, कार्यक्रम तथा बजेट सोमबार नगरसभामा प्रस्तुत गर्ने प्रवक्ता खेमराज भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update