Paschim Express
अमरगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।

बुधबार एक समारोहकाबीच ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ जिल्लाको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले औपचारिक समारोहका बीच अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख भण्डारीले कार्यक्रममा अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र नगर प्रमुख डिल्लीराज जोशीलाई हस्तान्तरण गरेका थिए ।

२०८० चैत महिनादेखि ०८१ जेठ महिनाभित्र जन्मेदेखि १५ महिना र १६ देखि ५ वर्षसम्मका बालबालिकाले पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा अमरगढीलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरप्रमुख जोशीले जानकारी दिए ।

नगर प्रमुख जोशीले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने सबै सरोकारवाला र कर्मचारीहरुलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने सुझाए ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update