Paschim Express
डडेल्धुरामा ७९ प्रतिशत विद्यार्थी ११ कक्षामा भर्ना हुन अयोग्य, ५१७ जनामात्रै एसईई उत्तीर्ण

डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट एसईई दिएकामध्ये ७९.१७ प्रतिशत कक्षा ११ मा भर्ना हुन ‘अस्वीकृत’ भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार एसईई दिएका दुई हजार चार सय ८१ जना ७९.१७ प्रतिशत अर्थात् एक हजार नौं सय ६४ जना विद्यार्थीे ११ कक्षामा भर्ना हुन अयोग्य भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीका अनुसार परीक्षामा सहभागी भएकामध्ये २०.८३ प्रतिशत अर्थात पाँच सय १७ जनामात्रै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

ननग्रेडिङ (एनजी) अर्थात् अस्वीकृत भएकामध्ये दुई विषयमा एनजी आएका विद्यार्थीले साउन १८ र १९ गते सञ्चालन हुने ग्रेडवृद्धि (मौका) परीक्षा दिन पाउनेछन् । 

दुई विषयसम्म एनजी ल्याएका विद्यार्थीले तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ ले गरेको छ । यस आधारमा कक्षा ११ मा भर्ना हुन योग्य विद्यार्थीको प्रतिशत बढ्ने देखिएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख जोशीका अनुसार जिल्लामा चार जीपीए भने कुनै पनि विद्यार्थीले ल्याउन सकेका छैनन् । ‘सबै विद्यालयको छुट्टाछुट्टै नतिजा बनाउने काम भइरहेको छ,’ उनले भने, ‘उत्कृष्ट नतिजा कुन विद्यालयका विद्यार्थीले ल्याए भन्नेबारे अहिले नै यकिन भएको छैन ।’
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update