Paschim Express
डडेल्धुराको महेन्द्र माविमा विज्ञान र आमसञ्चार विषयको पढाई हुने

डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माविले विज्ञान संकाय र आमसञ्चार विषयको पढाई सुरु गर्ने भएको छ । विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान संकाय र आमसञ्चार विषयको अध्यापन सुरु गर्ने भएको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो ।

दुबै विषयको पढाई सुरु गर्नका लागि विद्यालय विकास योजना पनि निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए । उनका अनुसार विज्ञान विषय प्रवर्द्धनका लागि ८० लाख बजेट विनियोजन गरिएको छ । ‘८० लाखमध्ये छात्रवृत्तिका लागि मात्रै १२ लाख छुट्याएका छौं,’ उनले भने, ‘एक विद्यार्थीलाई ५० हजारसम्म छात्रवृत्ति दिने हाम्रो योजना छ । कक्षाकोठा र ल्यावका लागि २६ लाख तथा साढे २२ लाख तलब भत्ताका लागि विनियोेजन गरेका छौं ।’

ऐरका अनुसार प्रत्येक विद्यार्थीको शैक्षिक उत्कृष्टता सुनिश्चत हुने गरी विद्यालयमा सिकाइको वातावरणलाई मजबुत बनाउन शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सम्बन्धित सबै सरोकारवालासंगको सहकार्य तथा साझेदारीमा वृद्धि गर्ने प्रयास भइरहेको छ ।

दुई विषयको अध्यापन सुरु भएपछि समग्र जिल्लाको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीको छ ।

२००४ सालमा खोलिएको आधार पाठशालाको जगमा ०१४ सालमा मिडिल स्कुलको रुपमा महेन्द्र माविको स्थापना भएको थियो ।

०१८ सालमा एसएलसी वोर्ड परीक्षामा विद्यार्थीहरुलाई समावेश गराइएकोमा ०५१ सालदेखि कक्षा ११ र १२ को पठनपाठन संचालन गर्ने जिल्लाकै पहिलो विद्यालय बन्न सफल भएको थियो । ०७० सालदेखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जीनियरिङको पठनपाठन संचालन गरेको विद्यालयले ०७२ सालदेखि प्राविधिक धारतर्फ कक्षा ११–१२ को समेत पठनपाठन संचालन गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update