Paschim Express
डडेल्धुरामा मनाइयो राष्ट्रिय धान दिवस, रोपाई महोत्सवको आयोजना

डडेल्धुरा । डडेल्धुरामा पनि २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजना तथा विभिन्न निकायको सहकार्यमा जिल्लाको गन्यापधुरा गाउँपालिकास्थित सकायलमा धान दिवस मनाइएको छ । सोही अवसरमा रोपाई महोत्सव पनि गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरुले जानकारी दिए । 

यस्तै, जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको कृषि विकास शाखाले पनि धान दिवस मनाएको छ । अमरगढी नगरपालिकाको वडा नम्बर ३ स्थित गुजल्लेकमा धान दिवस मनाइएको हो । धान दिवसको कार्यक्रममा अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकालसहित अमरगढी नगरपालिकाका कार्यपालिका सदस्य, प्रमुख प्रकाशसकीय अधिकृत लगायतका कर्मचारी तथा विभिन्न सरकारी तथा गैरसरकारी सघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संञ्चारकर्मी, विद्यार्थीका साथै सर्वसाधारणको सहभागीता रहेको थियो ।

कार्यक्रममा अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेशबहादुर भण्डारीले धान खेतीको इतिहासका साथै नेपालमा धान खेतीको अवस्था र विश्वमा धान खेतीको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

यस्तै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि धान दिवस मनाएको छ । अमरगढी नगरपालिकाको वडा नम्बर ३ स्थित गुजल्लेकमा धान दिवस मनाइएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए ।

उनका अनुसार धान दिवसको अवसरमा रोपाई महोत्सवको पनि आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पदाधिकारीसंगै सदस्य, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update