Paschim Express
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ। गएको माघयता एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन्। कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ ।

यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुलामा तीन, डडेल्धुरामा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ। बर्सात सुरु भएसँगै डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा समेत बढ्दै गएको छ । उनले भने, “वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ।” पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए ।

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो। परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ ।

उनले भने, “तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ।” बर्सात्को समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन्। माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिए । विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उनले आग्रह गरे ।

चिकित्सकहरूका अनुसार एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गरेको छ । यो रोग लागेकालाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, सास फेर्न समस्या हुने, लामो समयसम्म टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, टोकेको ठाउँमा कालो दाग बस्ने लक्षण देखिन्छ ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update