Paschim Express
डडेल्धुराका निर्माण व्यवसायीको मृत्यु : छोरी भन्छिन् –बुवाको हत्या राज्यले गरेको हो

डडेल्धुरा । शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका– ५ का ४५ वर्षीय डम्बरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए ।  जंगलमा घाइते फेला परेका उनको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । 

निर्माण व्यवसायी भट्ट पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका छन् ।  देवभूमि कन्स्ट्रक्सनका सञ्चालक रहेका उनको मृत्यु प्रकरणबारे सूक्ष्म अनुुसन्धान गर्न भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

सोही घटनाबारे मृतक डम्बरदेवकी छोरी कुसुमले पनि आफ्नो बुवाको हत्या राज्यलेनै गरेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले अवसरवादीहरूले दिएको दबाब र आश्वासनका कारण आफ्ना बुवाले देह त्याग गरेको बताएकी छिन् । 

उनले लेखेकी छिन्-

मेराे बुवाकाे हत्या राज्यले नै गरेकाे हाे ।

अब दाेषी काे हाे र सजाय कसले पाउने अनि न्याय कसले दिने ?  सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउँदै गहन अनुसँधान गरि दाेषी उपर कारबाहीकाे माग गर्दछु । मेराे यो आक्रोश र मनको पीडा लेख्ने अरु कुनै ठाउँ भेटिन र आज यो आक्रोश राज्यलाई पोख्दै छु ।

राज्यले, मेरा बुवाको आत्महत्या गरेको हो । राज्यले नै गरेको हो । केही दिन अगाडि मात्रै बुवाले स्टाटस लेख्नुभएको थियो, "हरेक राष्ट्रलाई जिताउने भनेकै नागरिक हो उनीहरु स्वयम् हारेपछि राष्ट्र कसरी जित्ला र ? " यो भनाइ सामान्य देखिन्छ तर यसमा बुवाको गहिरो देशप्रतिको भाव लुकेको छ ।

सुदूरपश्चिममा झोलुङ्गे पुलका एकल र कुनै दिनका सफल निर्माण व्यवसायीका नामले चिनिने स्वर्गीयमेरा बुवाले यस्तो कदम उठाउनुमा कामको बिल भुक्तानी गर्ने कुरा मात्र होइन । यसका पछाडि धेरै आफूलाई मात्र extra ordinary ठानेर कर्मचारीका नाममा कर्मचारीतन्त्र गरेर बस्ने चरम अवसरवादीहरूले दिएको दबाब र आश्वासनको कारण हो ।

मेरा बुवाले आत्महत्या गरेको होइन, राज्यले मेरा बुवाको हत्या गरेको हो । यदि राज्य विकास निर्माणका संवेदनशील र जटिल कामहरूप्रति दृढ हुन सकेन, स्पष्ट सम्झौता गर्न सकेन, काम गर्ने व्यक्तिलाई तनाव र दबाब दिएर बस्छ भने त्यसबाट पर्ने असरको दायित्व राज्यले बेहोर्नुपर्छ ।

मेरो घरको पिल्लर ढलेको छ । दिनानुदिन देशका गरिखाने बौद्धिक क्षमता भएका इमान्दार व्यक्तिहरू यसरी राज्यको तर्फबाट पेलिएका छन् । देशमै बसेर केही गर्नुपर्छ छोरी, विदेशको सपना देख्नु हुँदैन भन्ने मेरा बुवालाई राज्यले मर्न बाध्य बनाएको छ।

म देश चलाउन सक्छु भन्ने क्षमताको व्यक्तिलाई यस्तो अवस्थामा क्रुर पीडा दिने काम राज्यले गरेको छ । व्यक्ति आफै अपराध गर्न सक्दैन, उसलाई अपराध गर्न बाध्य बनाउने यस्ता प्रवृत्तिका जनावररूपी मानवहरूको काम गर्ने व्यवहारले गर्दा यस्तो भएको हो । व्यक्तिको बौद्धिकताको कदर नगर्ने राज्यले यसको जवाफदेही हुनुपर्छ ।

मेरो बुवालाई जितको खुसी मात्र होइन हारको खार पनि मनपर्छ भन्नुहुन्थ्यो । किनभने त्यो खारमा थुप्रै जीवन सफल बनाउने आनन्दको सूत्र हुन्छ । राजनीति र दुई जिब्रे व्यक्तिहरूबाट टाढा बसे पनि मेरो बुवा यो समाजसँग संघर्ष गर्न सक्नुभएन र अन्तिममा समाज, परिवार नभनी संसार त्याग्नुभयो ।

यसको जवाफदेही राज्यको ठेक्काको टेन्डर आह्वान गर्ने वा अरु कुन निकायले हुनुपर्छ हामी पीडित र म छोरीलाई स्पष्ट चाहिँयो । म कानुनको विद्यार्थी भनेर के गर्नु, जबकि मेरो देशको कानुन, कानुन भन्न लायक छैन ।

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update